काठमाडौँ – चिकित्सा शिक्षा सुधारका लागि लड्दै आएका प्रा.डा. गोविन्द केसीले २० औँ पटक अनसन बस्ने घोषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्तीमार्फत डा केसीले सरकारले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको र विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै अनसन बस्ने घोषणा गरेका हुन् ।
उनले संविधानको रक्षा गर्न र विधि र प्रक्रिया मिचेर गरिएका संवैधानिक निकायमा नियुक्तिका सिफारिस रद्द गर्नुपर्ने दुई बुँदे माग राखेका छन् । माग पूरा नभए फागुन १२ गतेदेखि अनसन थाल्ने डा केसीले चेतावनी दिएका छन् ।
‘यो अवस्थामा आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह शुरु गर्ने निर्णय गरेका छौं ।’ उनले भनेका छन्, ‘आगामी तीन सातामा हाम्रा मागहरु पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं ।’
डा केसीले विभिन्न माग राख्दै यसअघि १९ पटक अनसन बसिसकेका छन् ।