नारायणी– पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । यसको प्रभाव र परिणामले व्यक्तिको प्रतिरोधात्मक क्षमतामा सकरात्मक प्रभाव देखिएसंगै आम व्यक्तिमा आयुर्वेद औषधिप्रतिको लगाव ह्वात्तै बढेको हो ।


ADVERTISEMENT


तसर्थ पछिल्लो समय आयुर्वेद पद्धति मार्फत उपचार गराउने बिरामी संख्या बढेसंगै अस्पतालमा आयुर्वेद औषधिको अभाव हुन थालेको छ । आयुर्वेदप्रतिको बढ्दो विश्वासका कारण उपचार गराउने बिरामीका सङ्ख्या वृद्धि भएपनि औषधि अभावका कारण भने, यहाँको स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ ।


ADVERTISEMENT

# # #


औषधालयमा उपचार तथा परामर्श लिनेका सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । आवश्यकता अनुसार, सेवाग्राहीलाई औषधि उपलब्ध गराउन नसकिएको औषधालयका प्रमुख डा. सृष्टि श्रेष्ठको जानकारी दिइन्। वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सो औषधालयमा औषधि मात्र नभई आवश्यक जनशक्ति तथा बजेटको समेत अभाव रहेको उनले बताइन् ।

कोरोनाको जोखिम हुन नदिन तथा उपचारमा समेत आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको औषधालयप्रति आकर्षण बढेको छ । विगतका तुलनामा सेवाग्राही बढी आउने गरेका वरिष्ठ आयुर्वेद चिकित्सक श्रेष्ठको भनाई छ । चालु आवको साउनदेखि मङ्सिरसम्ममा मात्रै अस्पतालमा सेवा लिनेको संख्या ३ हजार ७ सय११ जना पुगेको छ ।

यस्तै, गत आवको सोही अवधिमा स्वासथ्य सेवा लिने बिरामीको संख्या हेर्ने हो भने जम्मा २ हजार ९ सय ९८ ले सेवा लिएको देखिन्छ । कोरोना सङ्क्रमण बढेपछि भने अन्य ७ हजार ९ सय ९० ले विभिन्न रोगको उपचार गराएका थिए । २०७५/७६ मा करिब सात हजारले उपचार गराएका थिए ।

औषधालयमा बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि आउने गरेका छन् । अहिले दैनिक ६० भन्दा बढी व्यक्ति उपचार सेवा लिन आउने गरेका प्रमुख श्रेष्ठले बताउनुभयो । औषधालयले निःशुल्करूपमा ज्येष्ठ नागरिक, स्तनपायी , गाउँघर क्लिनिक र निःशुल्क औषधि लगायत स्वास्थ्य समस्या निराधार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बहिरङ्ग , फिजियोथेरापी , शिरोधार, पञ्चकर्म र योग पनि निःशुल्करूपमा औषधालयमा सञ्चालित छ । योगाभ्यास सेवा बिहान दैनिक शुरु गरे पनि सेवा लिने न्यून रहेको संलग्न चिकित्सक बताउनुहुन्छ । चालु आवमा औषधालयको कार्यालय सञ्चालनलयायत औषधि खरिदका लागि रु २३ लाख रहेको उहाँले बताउनुभयो । ‘औषधि खरिदको बजेट कम छ, पुर्याउनमा समस्या रहेको छ’ उनले भने ।

यसैगरी, सो औषधालयबाट कोरोना सङ्क्रमण तथा उपचार परामर्श र शारीरिक क्षमता वृद्धिका लागि आयुर्वेद विभागले पठाएको निर्देशनअनुसार काम भएको छ । क्वारेन्टिनमा उपचार र परामर्श सेवा, शङ्कास्पद बिरामीलाई अश्वगङ्धाचूर्ण, गुर्जेचूर्ण, मधुचूर्ण र चिथोप्लाजीचूर्ण औषधि र आवश्यक परामर्श समेत दिइएको छ ।

विसं २०३४ बाट मकवानपुर जिल्लाको हेटौँडामा सञ्चालनमा रहेको औषधालय विसं २०३८ मा आफ्नै भवन निर्माण गरी हेटौँडा–२ मा व्यवस्थितरूपमा सञ्चालनमा रहेको छ । यसअघि पर्साको रानीगञ्जमा औषधालय सञ्चालनमा थियो । पछि विसं २०३४ मा हेटौँडामा सारिएको थियो । हाल औषधालय वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको छ ।

औषधालयअन्तर्गत हेटौँडा उपमहानगरपालिका र राक्सिराग गाउँपालिकामा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ । हेटौँडाको हटिया र चुरियामाई तथा राक्सिरागको काकंडामा आयुर्वेद औषधालय रहेको र त्यहाँ पनि औषधि समस्या रहेको बताइएको छ । रासस