मनाङ– नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन । आगोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । मानव बस्ती भएको वडा नं ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोँचे खतरामुक्त छ ।


ADVERTISEMENT


मानव बस्ती नजिकै आगो आइपुगेकाले सबैजना आगो निभाउन भरपुर्ण प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । आगलागी के कति कारणले भयो? भन्ने हालसम्म पत्ता लागेको छैन । उनका अनुसार, प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगजनी झन् तीव्रव रुपमा फैलिरहेको छ । धेरै ठूला रुखलाई आगोले नभेट्टाए पनि साना बुट्यान तथा झाडी भने पुर्ण रुपमा जलेको छ । भिरालो भौगोलिक बनावटका कारण आगो निभाउन कठिन भएको अधिकारीको भनाई रहेको छ ।

आगोको लप्का र तापका कारण ढुङ्गा तातेर फुट्ने र खस्ने भएकोले जोखिम मोलेरै भए पनि सय जनाको टोली आगो निभाउन खटिइरहेको उनले बताए । ‘अहिले हामी बस्ती जोगाउने प्रयासमा छौँ । बस्तीभन्दा १०० मिटर टाढा मात्रै आगो छ; उनले भने । नयाँ दाउराघाँसको आशले स्थानीयवासीले आगो लगाएको हुनसक्ने उनको आशङ्का रहेको छ ।

यसैगरी, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले भने प्रतिशोधको वाव्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुनसक्ने बताएका छन् । भौगोलिक विकटताका कारण ताचैभन्दा माथिको लेकमा लागेको आगो निभाउन गाह्रो परेको उनले बताए । ‘अहिले पनि हामी आगोसँग आगो जुधाएर निभाउने प्रयास गर्दै छौँ ; गौतमले भने । उनका अनुसार, यसैबीच सदरमुकाम चामे नजिकै तलेखुमा लागेको आगो भने निभाइएको छ।

थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि हाल स्थानीयवासीहरू त्रसित छन् । आगलागीसँगै वन विनाश हुँदा महत्वपूर्ण जडीबुटी नष्ट हुने भन्दै उनीहरुले जङ्गली जनावरको बास उठेकोमा चिन्ता व्यक्त गरेका छन् । अग्ला पहाडमा रहेको जङ्गलको आगोले मानव बस्तीलाई जोगाउनुबाहेक आगो निभाउन गर्न कठिन हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

मङ्सिर ११ गतेदेखि लागेको आगो पूर्णरूपमा निभाउन नपाउँदै फेरि आगो लाग्नुले मनाङका जङ्गल जलेर सकिने हो कि भन्नेमा पीर परेको स्थानीय वडाध्यक्ष छिरङ घ्ल्पो पुनेलले बताए। मानवबस्ती नै जागोउन गाहृो पर्ने गरी फैलिएको आगो किन र कसले लगाएको हो? भन्नेबारे आवश्यक अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । रासस