– एसएसपी अशोक सिंह,

प्रमुख,

महानगरीय प्रहरी परिसर, काठमाडौं

अहिले  काठमाडौँमा शान्ति सुरक्षाको अवस्था कस्तो छ ? 


ADVERTISEMENT


हाल काठमाडौँको शान्ति सुरक्षाको अवस्था सामान्य छ । पछिल्ला राजनीतिक परिदृश्यले केही फरक परिस्थिति सिर्जना भएको छ । व्यापक आमसभा, जुलुस तथा विरोधका कार्यक्रमहरू भइरहेका छन् । त्यसका लागि हामीले सुरक्षा योजना बनाएर व्यवस्थित तरिकाले शान्ति सुरक्षाका लागि काम गरिरहको छौँ ।


ADVERTISEMENT

# # #


प्रहरी अलर्ट हुने बेला आएको हो ?

प्रहरी सँधै अलर्ट हुन्छ । अहिले जुन अवस्था आएको छ त्यसका लागि हामी तयारी अवस्थामा छौँ ।

पछिल्लो राजनीतिक माहोलका कारण सडकमा भइरहेका आन्दोलन, जुलुस लगायतका प्रदर्शनहरूबाट कुनै अप्रिय घटना हुन नदिन कस्तो रणनीति बनाएर काम गरिरहनुभएको छ ?

अहिले काठमाडौँमा एकै दिनमा ३५ भन्दा बढी ठाउँमा जुलुस भईरहेका छन् । कुनै पनि अप्रिय घटना हुन नदिन सम्बन्धित पक्षका आयोजकसँग समन्वय गरेर कार्यक्रम के हो ? र्याली कहाँसम्म जाने हो ? विरोध वा समर्थन के कस्तो प्रकृतिको प्रदर्शन हो आदि सबै कुरा हेरेर जनशक्ति परिचालन गरिरहेका छौँ ।

नागरिकलाई काठमाडौँमा शान्ति सुरक्षा छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ ?

काठमाडौँमा शान्ति सुरक्षा खल्बलिन नदिन काम भईरहेको छ भन्ने प्रहरीले विश्वास दिलाइसकेको छ । हामी विश्वस्त छौँ ।

अपराध नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम राख्न प्रहरी २४ घण्टा परिचालन भएको छ, कुनै कमजोरी छैन ।

आन्दोलन तथा जुलुसहरुलाई नियन्त्रण गर्न प्रहरीले के गर्छ ?

शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दैन । आमसभा जुलुस गरेको अवस्थामा निषेधित क्षेत्रमा गएर प्रदर्शन तथा निषेधित कार्य गरेको अवस्थामा सम्झाइ बुझाइ त्यो नगर्न भनिन्छ । निषेधित क्षेत्रमा ब्यानर पनि राखिएको हुन्छ, भिड त्यहाँ पुगेपछि हामी माइकिङ पनि गर्छौं । तर पनि अवज्ञा भयो भने हामी त्यस्तो गर्नेलाई नियन्त्रणमा लिन्छौँ । नियन्त्रणमा लिँदा ढुङ्गा मुढा प्रहार गर्ने, भिड नियन्त्रणबाहिर जाने अवस्था आयो भने हामी बल प्रयोग गर्छौं ।

हामी कुनै पनि हिसाबले निषेधित क्षेत्र ब्रेक गर्न दिन्नौँ । त्यसो गर्नेलाई स–सम्मान नियन्त्रणमा लिएर माथिसम्म रिपोर्टिङ गर्छौं । त्यसपछि माथिको निर्देशन अनुसार कारवाही अघि बढाउँछौँ । 

प्रहरी अधिकारीहरुका लागि काठमाडौँ आफ्नो क्षमता देखाउने अवसर पनि हो, यहाँ आइसकेपछि काम देखाउने के कस्ता योजना बनाउनुभएको छ ?

तत्काल त राजनीतिक परिवर्तनका कारण जुन अवस्था सिर्जना भएको छ यसलाई नियन्त्रण गर्नु नै पहिलो प्राथमिकतामा रहेको छ । अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि कार्ययोजना बनाएका छौँ, त्यहीअनुसार हामी अघि बढ्छौँ । समस्या पहिचान गरेर त्यसलाई निस्तेज गर्नेतर्फ हाम्रो ध्यान छ ।

काठमाडौंको सुरक्षालाई चुनौति दिने के के विषयहरु पाउनुभयो ?

अहिले काठमाडौँमा जुन प्रदर्शनहरू भइरहेका छन्, त्यसबाट कुनै अप्रिय घटना घट्न नदिनु हाम्रो जिम्मेवारी हो । काठमाडौंको सुरक्षा व्यवस्था खल्बलिन नदिन प्रहरी ‘अलर्ट’ छ ।

काठमाडौँमा अन्तर्राष्ट्रिय तथा संस्थागत रुपमा हुने त्यस्ता ठूला अपराधहरु अहिले छैनन् । तर लागूऔषध दुर्व्यसन, बलत्कार, घरेलु हिँसा, वेश्यावृत्ति लगायका विकृत अपराधहरु छन् ।

यिनलाई निस्तेज पार्ने अभियान चालेका छौँ । स्थानीय स्तरमा सहकार्य गरेर समुदाय साझेदारी अभियान अन्तर्गत जुवातास, घरेलु हिँसा, बलत्कार, वेश्यावृत्ति रोक्ने प्रयास भइरहेका छन् । हामीले विभिन्न समिति पनि गठन गरेका छौँ । पीडितलाई कसरी न्याय दिने र पीडकलाई कसरी कानूनी दायरामा ल्याउने भनेर हामी काम गरिरहेका छौँ । हामी ‘मुस्कानसहितको प्रहरी सेवा’, ‘प्रहरी मेरो साथी’ अन्तर्गतका अभियानमा रहेर काम गरिरहेका छौँ ।

राम्रो सुरक्षा व्यवस्था र जनतामा शान्ति सुरक्षाका लागि राजधानीमा जनतालाई अनुभूत हुने गरी हामी खटिएका छौँ ।

अन्तर्राष्ट्रिय अपराधहरुका लागि काठमाडौँ ट्रान्जिट बन्न सक्ने खतरा छ ?  त्यस्तो सम्भावनालाई रोक्न के कस्ता काम भइरहेका छन् ?

तत्काल त्यस्तो नदेखिएपनि खुला सीमा नाकाहरुका कारण यो अहिलेको ठूलो चुनौतीको विषय पनि हो ।

यस अघि लागूऔषध दुर्व्यसन लगायतका अन्तर्राष्ट्रिय अपराधको ट्रान्जिट पोइन्टका रुपमा काठमाडौँ प्रयोग भइसकेको उदाहरण हामीसँग भएकाले यसको नियन्त्रणका लागि सचेत हुनुपर्छ । काठमाडौँलाई अन्तर्राष्ट्रिय अपराध गरेर सेल्टर लिने ठाउँ बन्न दिनुहुँदैन । 

हामीले हुमेन ट्राफिक, साइबर ब्यूरो, ड्रग्स ब्यूरो लगायतका छुट्टाछुट्टै केन्द्र सञ्चालन गरेर जनशक्ति परिचालन गरेर निगरानी राख्ने र रोक्ने प्रयास गरिरहेका छौँ । थप जनशक्ति परिचालन तथा प्रविधिगत विकास गरेर यसका लागि थप काम गर्न पनि अवश्यक देखिन्छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?

आम सर्वसाधारणका लागि, शान्ति सुरक्षाका लागि प्रहरी सँधै खटिएको छ ।

सबैभन्दा पहिले प्रहरी जनताका लागि हो भनेर सबैले बुझ्नपर्छ । जनताको सुरक्षा, अपराध नियन्त्रण, शान्ति सुरक्षा र अमनचयनका लागि हामी छौँ ।

जनतालाई जिम्मेवार नागरिक भएर भूमिका खेलिदिन आग्रह गर्दछु । जस्तो कि कतै कुनै अपराध भइरहेको छ, लागूऔषध दुर्व्यसनको क्रियाकलाप भइरहेको छ, कुनै शंकास्पद गतिविधि भइरहेको छ भने तुरुन्त प्रहरीलाई खबर गर्न म सबैलाई आग्रह गर्दछु । अरुलाई पर्दा बेवास्था गर्दा कुनै दिन आफैलाई पनि त्यस्तो पर्न सक्छ । त्यसैले त्यस्तो केही देखिएमा ठूलो घटना हुन नदिन तत्काल प्रहरीलाई खबर गर्नु नागरिकको कर्तव्य पनि हो । हामी सँधै शान्ति सुरक्षाका लागि खटिईनैरहेका छौं ।