मकवानपुर– बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ । सरकारी वन क्षेत्रमा रहेको सो विद्यालय भवनमा जिल्ला वन कार्यालयले थप कक्षाकोठा निर्माण गर्ने भन्दै भवन भत्काइएपछि त्यहाँका विद्यार्थीको पठनपाठन ठप्प भएको हो ।


ADVERTISEMENT


भवन यही पुस २५ गते मात्रै भत्काएको कार्यालयले जनाएको छ । बकैया गाउँपालिका–१ को ढिकीफेदीमा रहेको वनदेवीकालिका आधारभूत विद्यालयको बन्दै गरेको नयाँ भवन र पुरानो टहरालाई भत्काइएको प्रति विद्यालयका प्राचार्य सरलोकुमार कछडियाले भने गुनासो गरेका छन्। कक्षा १ देखि ३ सम्म पठनपाठन हुने सो विद्यालयमा भवन भत्किदा त्यहाँका अध्ययनरत १ सय ७ विद्यार्थी नियमित पठनपाठनबाट वञ्चित भएको उनले बताए ।


ADVERTISEMENT

# # #


कार्यालयका प्रमुख इमनाथ पौडेलले सरकारी वनमा भवन बनाउन लागेकाले भत्काइएको जनाएको छ । विद्यालयको नयाँ भवन निर्माण विषयमा अर्को गाउँसँग विवादसमेत रहेकाले भवन भत्काउन त्यहाँका बासिन्दाले पनि सहयोग गरेको स्थानीय अभिभावकले बताए ।

यस समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडास्थित छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले जिल्ला वन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा एकाइ, बकैया गाउँपालिका र सो विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिको सहभागिता रहेको थियो ।

उक्त बैठकले यही माघ १५ गतेसम्म गाउँपालिकाले दुई गाउँको सहमति ल्याउनुपर्ने र सहमतिअनुसार वनले सो निर्णयलाई स्वीकार गर्ने सहमति भएको गाउँपालिका उपाध्यक्ष सरला वोलखेले बताइन्। रासस