काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले व्यापक विरोध प्रदर्शन गर्दैछ । काठमाडौँमा १ लाख भन्दा बढी मान्छे उतारेर विरोध प्रदर्शन गर्ने प्रचण्ड–नेपाल पक्षको योजना रहेको छ ।


ADVERTISEMENT


त्यही अनुसार नेकपाले आफ्ना नेता कार्यकर्तालाई आग्रह र अपील गरेको छ । विराध प्रदर्शन उपत्यकाका विभिन्न ठाउँबाट पार्टी स्थायी समिति सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतीघर, दिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्ति बाटिका र बाल्मिकी क्याम्पस लगायतका स्थानबाट सुरु हुने पार्टीका नेकपाका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार विभिन्न स्थानबाट सुरु भएको जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुनेछ । उक्त मूल जुलुस रत्नपार्क, भद्रकाली, सहिदगेट सुन्धारा हुँदै भृकुटीमण्डपको विरोध सभामा परिणत हुनेछ ।

जुलुसको नेतृत्व र सभामा सम्बोधन पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपाल लगायतका केन्द्रीय नेताहरुले गर्नेछन् । विरोधसभालाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदूर र खेलकुद मोर्चाका २० हजार स्वयम् सेवकहरु परिचालन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गर्दै उनले भने, ‘नेकपाको मात्रै नभएर संघीय शासन व्यवस्था, संविधान र अग्रगमनका पक्षधरहरु साझा आन्दोलन हो ।’ संविधानले निर्देशन गरेको सीमाभित्र नै विरोध प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न हुने उनले बताए ।

उनले आन्दोलनबारेमा फैलाइएका भ्रमहरुलाई विश्वास नगर्न समेत आग्रह गरे । उनले भने, ‘प्रदर्शनमा घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई अराजकतातर्फ लैजाने सरकारी तथा प्रतिगामी समूहको प्रयासप्रति हामी सचेत छौँ ।’