काभ्रे– निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम २०७७ अनुसार बुधबारदेखि जिल्ला निर्वाचन कार्यालय, काभ्रेले आवश्यक तयारीको प्रारम्भिक कामलाई अगाडि बढाएको छ । निर्वाचन आयोगले नयाँ मतदाता नामावली सङ्कलनको कामलाई स्थगित गर्दै मतदाताको नामावलीलाई अध्यावधिक, मतदानस्थल र केन्द्रलाई राजनीतिक दल र स्थानीय सरकारको आवश्यक सल्लाह सुझावका आधारमा संशोधन अगाडि बढाएको हो।


ADVERTISEMENT


यससँगै जिल्लामा पनि कार्यालयले छलफल आयोजना गरेको आयोगले बताएको छ।


ADVERTISEMENT

# # #


पहिलो चरणको काम मतदानस्थल, केन्द्रको अवस्था र स्थानीय तहबाट आएको औपचारिक पत्रसहितको सुझावका आधारमा छलफल गरी निर्वाचन आयोगमा सिफारिस गर्ने काम अगाडि बढाएको कार्यालयका निर्वाचन अधिकारी उमेशकुमार राईले जानकारी दिए । ‘आयोगको निर्देशन अनुसार नयाँ मतदानस्थल बनाउन नमिल्ने तर भएकोलाई अवस्था र मतदाताको समस्यालाई ध्यानमा राखेर राजनीतिक दल र स्थानीय तहको सुझावको आधारमा निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेका छौं’, उनले भने,‘उहाँहरुको सुझावलाई मध्यनजर गरी सोही अनुसारले प्रक्रियालाई अगाडि बढाएका छौं ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि नारायण पाण्डे र नेपाली काँग्रेसका प्रतिनिधि महेश पौडेलले निर्वाचन कार्यालयले गरेको आग्रहका आधारमा स्थानीय तहहरुले पठाएको आधिकारिक पत्र बाहेक अरु मतदानस्थललाई अहिलेको लागि नचलाउन सुझाव दिए ।
विसं २०७४ को निर्वाचनमा जिल्लामा दुई लाख ७२ हजार २ सय ९२ मतदाता सङ्ख्या रहेकोमा अहिले नयाँ दश हजार २ सय ६३ जना थप भएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मतदाता नामावलीलाई अद्यावधिक गर्न सबैले सहयोग पु¥याउन आह्वान समेत गरेका छन् ।

मतदाता नामावली अद्यावधिक गरिँदै

सुदूरपश्चिम– जिल्ला निर्वाचन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा सक्रियता देखाएको छ । कार्यालयले सरोकारवालासँग समन्वय गरी जिल्लाभरी कुन ठाउँमा के कति मतदानस्थल र केन्द्र रहने भनी टुङ्गो लगाइसकेको छ । जिल्लामा साविकको भन्दा चार वटा मतदानस्थल थप्ने व्यवस्था गर्न लागिएको कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए।

विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा भएसँगै कार्यालयले निर्वाचनको तयारीमा सक्रियता देखाएको हो । यसै क्रममा आज कार्यालयमा मतदाता नामावली अद्याबधिक लगायतका बारेमा सरोकारवालासँग छलफल गरिएको छ ।

राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सहभागी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले निर्वाचन सम्पन्न गराउन सरोकारवाला सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए ।

निर्वाचन कार्यालयका प्रमुख भट्टले निर्वाचनको तयारीका लागि भइरहेको कामबारे जानकारी दिनुभएको थियो । यही माघ १५ गतेदेखि मतदाता नामावली अध्यावधिक९दाबी विरोध समेत० लगायतका काम गर्न लागिएको छ ।

पछिल्लो तीन वर्षमा आठ दशमलब पाँच प्रतिशतले मतदाता थपिएका छन् । थपिएका मतदाता समेत गएको गत पुस ५गते सम्म कूल पाँच लाख ४६मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार लाख ६० हजार ५ सय ७८ मतदाता रहेका थिए ।

जिल्लामा पुरुषको भन्दा महिला मतदाता बढी छन् । दुई लाख ५६ हजार २०४ महिला मतदाता र दुई लाख ४३ हजार ८ सय ३२ पुरुष मतदाता पुगेका छन् । तेस्रो लिङ्गी मतदाता दश जना रहेका छन् । जिल्लामा प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र र प्रदेशसभाका दश निर्वाचन क्षेत्र रहेका छन् । रासस