काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले पुष्प कमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले चलचित्रमा जस्तै तमासा देखाएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बिहीबार राजधानीमा आयोजित पार्टी निकट पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल–नेपाल समूहले तमासा देखाएर देशलाई अन्धकारतर्फ धकेल्ने प्रयास गरेको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘समाजमा विभिन्‍न शक्ति, तत्व र व्यक्ति हुन्छन् । उनीहरु स्वार्थका लागि अनेकप्रकारका हाउभाउ गर्छन । जनतालाई सिनेमा देखाउँछन् । हिरो हुन्छ, हिरोइन हुन्छ । उनीहरुबीच लभ परेको हुन्छ । हिरोइन घाइते हुन्छ । हिरो ब्याकुल हुनछ, रुन्छ । तर, वास्तवमा केही होइन । न लभ परेको हो, न घाइते भएको हो । सबै तमासा हो । केही मान्छे नाटक देखाउँन आउछन् । तमासा गर्छन, जनतालाई झुक्काउँछन् । हामीले जनतलाई उनीहरुको तमासाबाट सचेत गराउनुपर्छ ।’

ओलीले आफूहरु उत्तेजना, आक्रो र प्रतिशोधमा नभई देशलाई सुशासनको बाटोमा दौडाउन, भ्रष्टाचार शून्यमा झार्न र विकासमा फड्को मार्ने बाटोमा अग्रसर भएको बताए । ‘हामी रातो झन्डा फहराउनेवाला हौं । पेरिसडाँडमा जस्तो कालो झन्डा फहराउने होइनौं । रातो बेलुन उडाउने वाला हौं, कालो बेलुनवाला होइनौं ।’ उनले भने, ‘हामी सडकमा हिँड्दा रातो झन्डा बोक्ने वाला हौं, कालो झन्डा बोक्ने वाला होइनौं । हामी रातो र उज्ज्यालो भविष्यतर्फको हौँ, अन्धकारतर्फ अनिश्चततर्फको होइनौँ ।’

प्रधानमन्त्री ओलीले संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, लोकतान्त्रिक प्रणालिलाई सही बाटोमा लैजान एउटा राजनीतिक लडाईं लडिरहेको बताए । भारतीय टीभी च्यानललाई दिएको अन्तर्वार्ता र जी न्यूले सगरमाथाको नाम फेर्न चलाएको अभियानको विरोधलाई ‘राष्ट्रवादको तमासा’को संज्ञा दिए ।