लमजुङ– भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । भुकम्पबाट क्षति पुगेका १ सय २७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) लमजुङले जनाएको छ ।


ADVERTISEMENT


विद्यालय पुनःनिर्माणका लागि रु ६२ करोड खर्च भएको एकाई प्रमुख अशोक पराजुलीले बताए । उनका अनुसार साउदी अरेबियाका दूतावासबाट भवन पुनःनिमार्णका लागि आएको रु १२ करोड, गैरसकारी संस्था र विद्यालय व्यवस्थापन समिति मार्फत गरी भवन पुनःनिर्माणका लागि अनुदानमा आएको कूल रु एक अर्ब १२ करोडमध्ये उक्त रकम खर्च गरिएको हो । उनका अनुसार, एक सय २७ विद्यालयमध्ये १ सय ६६ भवन पुनःनिर्माण हुने र तीमध्ये ८५ वटा भवनको पुनःनिर्माण सम्पन्न भइसकेका छन् भने, ८१ भवन निर्माणाधीन अवस्थामा रहेको रहेको छ ।


ADVERTISEMENT

# # #


पुनःनिर्माण सम्पन्न भएका विद्यालय भवनमध्ये २० कोठे भएका तीन वटा विद्यालय भवन गैरसरकारी संस्था गोरखा वेयलफेरयले निर्माण गरिदिएको छ । सो संस्थाले अझै, चार वटा विद्यालय भवन पुनः निर्माण गर्नुपर्ने छ । साउदी सरकारले बनाउन लागेको चार वटा विद्यालय भवन निर्माणाधीन रहेको इकाई प्रमुख पराजुलीले जानकारी दिए । ‘३२ वटा शौचालय निर्माण सम्पन्न भइसकेको छ भने ३६ वटा शौचालय निर्माणाधीन अवस्थामा रहेको छ,’ उनले भने । त्यस्तै, ३७ वटा खानेपानी धारा निर्माणाधीन अवस्थामा रहेको इकाइले जनाएको छ ।

चालू आर्थिक वर्षमा ८१ विद्यालय भवन, ३६ शौचालय र ३७ खानेपानी धाराको पुनःनिर्माण गर्ने लक्ष्य लिएको प्रमुख पराजुलीले बताए । जिल्लामा विद्यालय भवन पुननिर्माण आर्थिक वर्ष २०७३/७४ बाट शुरु भएको थियो । उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेकोमा निर्धारित समयमै सम्पन्न हुन लागेको इकाइ प्रमुख पराजुलीले जनाए।

जिल्लाका कूल ३ सय ५२ सामुदायिक विद्यालयमध्ये १ सय २७ विद्यालय भुकम्पका कारण क्षतिग्रस्त भएको थियो । रासस