चितवन– जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २ सय १६ वटा सवारी दुर्घटना भएको छ । ती दुर्घटनामा परेर घाइते हुने संख्या ३ सय ६१ जना रहेको छ भने ५८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै पूर्वपश्चिम लोकमार्गमा दुर्घटना भएका छन् । त्यहाँ मात्रै ७४ वटा दुर्घटना भएको र ती दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ रहेको तथ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT


यस्तै, नारायणगढ–मुग्लिन सडक खण्डमा ३४ वटा दुर्घटनामा छ जनाको मृत्यु र पृथ्वी राजमार्गमा भएका १२ दुर्घटनामा सात जनाको मृत्यु भएको छ । भरतपुर नगर (रिङरोड)मा भएको ३७ दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ, भने अन्य सडकमा भएका ५८ दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् ।


ADVERTISEMENT

# # #


यीमध्ये पनि सबैभन्दा बढी दुर्घटना मङ्सिरमा भएको कार्यालयले जनाएको छ । मङ्सिरमा मात्र ५२ दुर्घटना भएको थियो । चालु आवको पुस मसान्तसम्म सवारी दुर्घटनामा परी मृत्यु हुने ५८ जनामध्ये पुरूष ४८, महिला छ, बालक एक र बालिका तीन जना रहेका छन् । छ महिनाको अवधिमा भएका २ सय १६ वटा दुर्घटनामा ३ सय ३६ सवारीसाधन संलग्न भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । उनका अनुसार दुर्घटनामा पर्नेमा सबैभन्दा बढी १ सय ६३ वटा मोटरसाइकल रहेका छन् ।

तीव्र गति नै दुर्घटनाका मुख्य कारण रहेको उनले बताइ। तीव्र गतिकै कारण १ सय ६१ वटा दुर्घटना भएको छ । चालकको लापरवाहिले ३८, ओभरटेकका कारण १०, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सात र यात्रुको गल्ती र यान्त्रिक खराबीका कारण एक/एक वटा दुर्घटना भएको उहाँको भनाइ छ । राजधानी प्रवेश र बाहिरिने मुख्य सडक यसै जिल्ला हुँदै जाने भएकाले सवारी दुर्घटना बढी भएका छन् । जिल्लाका अधिकांश भागमा सवारी साधन पुग्ने र सडकको अवस्था राम्रो नभएकाले पनि दुर्घटना बढेका हुन् । रासस