गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।


ADVERTISEMENT


दुवै दलका तर्फबाट बुधबार संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणको हितलाई दृष्टिगत गर्दै पारित सङ्कल्प प्रस्तावलाई प्रभावकारी कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गरिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आमजनताको हितलाई दृष्टिगत गर्दै यस सङ्कल्प प्रस्तावलाई अघिल्लो अधिवेशनमा समेत प्रस्तुत गरिएको बताउँदै उनले विशेष अधिवेशनमा सत्तापक्ष र प्रतिपक्ष सबैको सहमतिमा सर्वसम्मत साझा प्रस्तावका रूपमा पारित भएको बताए ।


ADVERTISEMENT

# # #


यसको प्रभावकारी कार्यान्वयन अबको आवश्यकता भएको बताउँदै उनले त्यसतर्फ प्रतिपक्षी दलका रूपमा कांग्रेसले निरन्तर निगरानी गर्ने उल्लेख गरे । सङ्कल्प प्रस्ताव पारित हुनुले देशको विकराल परिस्थितिमा एकताबद्ध रूपमा समाना गर्न सक्छौँ भन्ने सन्देशसमेत दिएको उनको भनाइ रहेको छ । जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य हरिशरण आचार्यले कोरोना नियन्त्रणका सम्बन्धमा सत्तपक्ष र प्रतिपक्ष एकमत बन्नु सकारात्मक भएको बताउँदै आगामी दिनमा यसको कार्यान्वयन कसरी अघि बढ्छ? त्यसतर्फ निरन्तर चासो दिइने उल्लेख गरे।

कोरोनाको निःशुल्क उपचार, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका १३ बुँदासहित पुस २४ गते प्रदेशसभामा दर्ता सङ्कल्प प्रस्ताव मङ्गलबार बसेको बैठकले सर्वसम्मत पारित गरेको थियो । विपक्षी दलका नेता नेपालीले दर्ता गरेको सङ्कल्प प्रस्तावको जनता समाजवादी दलका आचार्य, नेकपाका तर्फबाट मायानाथ अधिकारी र गायत्री गुरुङ, तथा राष्ट्रिय जनमोर्चाको कृष्ण थापाले समर्थन गरेका थिए।

आगामी दिनमा प्रदेशमा सत्ता समीकरणका सम्बन्धमा सोधिएको प्रश्नमा कांग्रेस संसदीय दलका नेता नेपालीले नेकपा वैधानिकपमा अलग भइनसकेको अवस्थामा हाल त्यसबारे कुनै औपचारिक छलफल तथा निर्णय नभएको जानकारी दिए । रासस