काठमाडौं – संघीय मामिला तथा समान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने विश्वास दिलाएका छन् ।


ADVERTISEMENT


बुधबाररिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ठगुन्नाले सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त तयारीहरुको थालनी गरेको बताए । उनले निर्वाचन अयोगले पनि निर्वाचनसम्बन्धी कामकारबाहीहरू अगाडि बढाएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


ओली नेतृत्वको वर्तमान सरकार ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियान सञ्चालन गर्दै तिव्र गतिमा समाजवादउन्मुख अर्थतन्त्र बनाउने क्रियाकलापमा अगाडि बढेको पनि मन्त्री ठगुन्नाले सुनाए । भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउने तयारी तीव्र हुँदा सरकारलाई असफल बनाउने षड्यन्त्र भएको उनले दाबी गरे । उनले भने, ‘भारतसँग हामीले प्रष्ट रुपमा प्रधानमन्त्रीको नेतृत्वमा मिचिएको भूमि फिर्ता लिने कार्यक्रम पनि अगाडि बढ्दै जाँदाखेरि सरकारका विरुद्धमा, सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भयो ।’

उनले बलियो सरकार, स्थिर सरकार, प्रगतिशील सरकार आफ्नो सार्वभौमसत्ता रक्षा गर्नको लागि सक्षम हुने उल्लेख गर्दै वर्तमान सरकार नेपालको भौगोलिक अखण्डता रक्षा गर्न पनि सक्षम भएको सुनाए । झण्डै दुई तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिपक्षसँग मिलेर सरकार असफल गराउने खेल सुरु भएपछि नै सरकार ताजा जनादेशमा जानुपर्ने बाध्यता सिर्जना भएको उनले बताए । उनले भने, ‘लोकतन्त्रमा जनताको जनादेश लिनु नै सबैभन्दा ठूलो कुरा भएको हुनाले वर्तमान सरकारले निर्वाचनको घोषणा गर्यो ।’

मन्त्री ठगुन्नाले वर्तमान सरकारले घोषणा गरेको निर्वाचन संविधानअनुरुप नै रहेको दाबी गर्दै तोकिएकै समयमा हुने ठोकुवा गरे । उनले भने, ‘आगामी निर्वाचन अत्यन्त पारदर्शी र शान्तिपूर्ण ढंगले सम्पन्न हुन्छ । जनताले निर्वाद रुपमा मतदान गर्छन् । निर्वाचनमा गएर फ्रेश म्याण्डेट लिनुपर्छ ।’

संसद पूनःस्थापना हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले त्यो सम्भावना नभएको दाबी गरे । उनले थपे–‘संसदमा सरकार बनाउने विकल्प नभएको हुँदा संविधानअनुसार संसद पूनःस्थापना हुन सक्दैन ।’

उनले नेकपामा कसले आधिकारिकता पाउँछरु भनेर सोधिएको प्रश्नमा नेकपा नफुटेको पनि जिकिर गरे । उनले भने, ‘नेकपा फुटेकै छैन् । नेकपा छँदैछ । दुई वटा भएको भए पो मान्यताप्राप्त कसले पाउँछ ? भन्ने कुरा आउँछ ।’ नेकपाको नेतृत्व ओलीले गरेको र संस्थागत रुपमा पार्टी एकिकृत नै रहेको बताउँदै उनले आधिकारिक पनि ओली समूह नै रहेको दाबी गरे । उनले अहिले सरकारको विरुद्धमा सडकमा जानुपर्ने अवस्था नै नभएको जिकिर गरे ।

वर्तमान सरकारले सिमामा सरक्षाको राम्रो प्रवन्ध गरेको पनि उनको दाबी छ ।