– गोपाल नेपाल
बुद्ध धर्म, भगवान बुद्धले मानव मुक्तिका खातिर अज्ञानताका विरुद्ध मार विजय पश्चात मृगदावनमा पहिलो धर्मचक्र प्रवर्तन गरेपछि पैतालिस वर्षसम्म ग्राम, नगर तथा निगमहरुमा गर्नुभएको धर्मदेशनाहरुको आधारबाट बुद्धधर्मको उदय भएको देखिन्छ ।
बुद्धधर्मले अनित्य, अनात्म र दुःखको विश्लेषण गर्नुका साथै मुक्ति र समाधानका उपायहरुको बाटो पनि दिने गरेको छ । जसरी हिन्दु धर्ममा षडदर्शनहरुः सांख्य, योग, न्याय, वैशेसिक, मीमांसा, र वेदान्तका आधारमा वस्तुहरुको उत्पत्ति तथा अध्ययन अथवा जीव र जगतका बारेमा विश्लेषण पाइन्छ त्यस्तै बौद्ध धर्ममा पनि बुद्धको अनित्यताको शिद्धान्तलाई वैभाषिक, सौत्रान्तिक, योगाचार, र माध्यामिक दर्शनमा फरक डगंबाट अध्यन तथा विश्लेषण गरेको पाइन्छ ।
बुद्धधर्मका चार दर्शन र तीनका भेदहरु
बुद्धले संसारलाई अनित्य भन्नुभएको छ र त्यही अनित्यताको व्याख्या गर्ने क्रममा विभिन्न आचार्य विद्वानहरुले जीव र जगतलाई अनित्यको रुपमा दार्शनिक ढंगले विश्लेषण गर्न चार प्रकारका दर्शनहरु प्रतिपादन गरेका छन् । दर्शन जीवनको मार्गदर्शक सिद्धान्त हो, जसले स्थापित मान्यताहरुको आधारमा समकालिन समयमा आफ्नो प्रमाणीकरण कायम गरेको हुन्छ । बुद्ध दर्शन, बुद्ध धर्मको आधारशीला हो । बुद्ध घर्मका सबै अनुयायीहरु, स्थविरवाद, महायान र बज्रयानी साधकहरुले बुद्ध दर्शनका कतिपय कुराहरु अक्षरस व्यवहारमा समेत हु बहु लागुगरेका हुन्छन । तसर्थ बर्तमान कतिपय आधुनिक सिद्धान्तहरु जसलाई पश्चिमाहरुले आफु त्यो सिद्धान्तको जनक भएको दाबी गर्दछन ती सम्पुर्ण सिद्धान्तहरुको सार बुद्ध दर्शन भित्र प्राप्त गर्न सकिन्छ । तसर्थ आधुनिक दर्शन तथा सिद्धान्तका पिता भगवान गौतम बुद्धलाई मान्दा अत्युक्ति नहोला ।
वैभाषिक : बुद्ध धर्मको आधारभुत सिद्धान्तको रुपमा यस दर्शनलाई लिइने गरिन्छ । यस दर्शनकानुसार वस्तुको उत्पति, अवस्थिति र भंगको नियमानुसार सम्पुर्ण पदार्थहरु अनित्य छन भनेर जनाउँदछ । जस्तै कुनै पनि वस्तुको जन्म हुन्छ अथवा उत्पति हुन्छ, उक्त वस्तुको आयु निश्चित अवधी हुनेहुन्छ त्यस अवधी सम्मलाई बस्तुको अवस्थिति मानिन्छ र अन्त्यमा उक्त बस्तुको अन्त्य हुने हुन्छ जसलाई भंग भन्ने गरिन्छ । यो एउटा उत्पति अवस्थिति र भंगको नियम हो ।
सौत्रान्तिक : वैभाषिकको अवस्थितिको अवस्थालाई यस दर्शनले अस्विकार गर्दछ । यसले वस्तुको उत्पति र भंगको नियमलाई स्विकार्दछ । हरेक पल हरेक वस्तुको परिवर्तन भइरहेको हुन्छ र उत्पती हुनासाथ त्यो भंग हुन्छ भन्ने मान्यता यस दर्शनको रहेकोछ । जस्तो कुनै पनि पदार्थ या वस्तु त्यही अवस्थामा कदापि पनि रहिरहन सक्दैन बरु प्रत्येक क्षेण भंगको नियमानुसार त्यो ध्वंस भै रहेको हुन्छ भन्ने मान्यतानै सौत्रान्तिक दर्शन हो, श्रावकयानी परंपराको दार्शनिक आधार भनेकै बैभाषिक र सौत्रान्तिक हो ।
योगाचार : यसलाई योगाचार तथा विज्ञानवाद दर्शनका रुपमा पनि चिनिन्छ । यस दर्शनकानुसार षडायतन मध्ये चित्त प्रधान हुन्छ । पंच इन्द्रिय द्वार हुन भने चित्तमा परावर्तन भएर मात्र कुनै पनि वस्तुको अवबोध हुन्छ । आँखाले देखेर, नाकले सुँघेर, कानले सुनेर, जीब्राले स्वाद लिएर र छालाले स्पर्श गरेर भन्दा पनि चित्ताबृतिद्धारा वस्तुको अवबोध गर्न सकिन्छ । यस मतका प्रवर्तक असंग हुन भने उनका भाइ बसुबन्धुको पनि योगाचार दर्शनको विकाशमा ठुलो योगदान रहेको छ । यस सम्प्रदायलाई चीनमा परिचीत गराउन तथा विस्तार गर्न चाइनिज तिर्थयात्री सुयेनचाङको ठुलो भुमिका रहेको छ । यसले आलय विज्ञान, क्लिष्ट मनो विज्ञान तथा तथागत गर्भका बारेमा विस्तृत अध्ययन गर्दछ ।
माध्यमिक दर्शन : प्रथम तथा दोश्रो शताब्दीका माहान दार्शनिक तथा चीन्तक नागार्जुनद्वारा प्रतिपादित यस दर्शनको विषेशता भनेकौ शुन्यतावाद हो अथवा सास्वतबाद र उच्छेदबादको बिचको दर्शन नै माध्यमिक दर्शन हो । यस दर्शनले शून्यताको अवबोध गराउदछ । सत्यलाई हेर्ने दुई दृष्टिकोणहरु !
१. संवृति सत्य
२. परमार्थ सत्य
संवृति सत्य : हाम्रा वरपर देखिने वस्तुहरु हेतुद्वारा देखिएको जस्तो मात्र भएको हो, तीनको निजी अस्तित्व छैन । कुनै पनि वस्तुको अस्तित्व सापेक्षतामा मात्र देखिने र निरपेक्ष नभएका कारण त्यो भ्रम मात्र हो । घर, गाडी, वस्तु तथ अन्य जे सुकै चीज वर पर देखिने वस्तुहरु ती भ्रम बस देखिएका मात्र हुन । हामी जे राम्रो देखेर कुदेका छौ त्यो भ्रमवस देखिएको मात्र हो, जुन क्षणिक हुन्छ । तसर्थ संवृति सत्य भन्नुनै परंपरागत सत्य हो । समाजले जेलाई राम्रो सिकायो त्यही राम्रो भएको मात्र हो । कुनै पनि कुरो सर्बमान्य हुदैन भन्ने सिद्धान्त नै संवृति सत्य हो । गते, महिना, पूर्व, देश, मानिश, जेजति वस्तुहरु छन् ती सम्पूर्ण भ्रमपूर्ण अस्तित्वमा छन् । यसैलाई संवृति सत्य भनिन्छ ।
परमार्थ सत्य : शून्यताको अवबोध, निर्वाण र आकाश मात्र परमार्थ सत्य हुन, जुन निरपेक्ष हुन्छ । सुक्ष्मबाट स्थूल र स्थूलबाट सुक्ष्ममा रुपान्तर हुने हरेक पदार्थहरु शून्य स्वभावका हुन्छन । तसर्थ विध्यमान पदार्थको अस्तित्वनै अस्थाई हुने भएकाले यो संसारीक जगत यथार्थ हैन भन्ने बुझाई नै परमार्थ सत्यको बुझाई हो । तसर्थ आकाश र निर्वाण मात्र निरपेक्ष हुने बुझई नै परमार्थ सत्य हो ।
बुद्ध धर्मको माहायानी ग्रन्थ प्रज्ञा पारमिता हृदय सूत्रले पनि शून्यता ज्ञानको विश्लेषण गर्दछ । जसलाई आचार्य नागार्जुनले नागलोकमा गै यस लोकमा अवतरण गराएको मानिन्छ ।