काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेकाले अब सिंहदरबारको अधिकार जनताको घरदैलोसम्म पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।


ADVERTISEMENT


नेपाल सांस्कृतिक कलाकर्मी संघद्वारा दशैँ, दीपावलीलगायत पर्वका अवसरमा यहाँ हिजो आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सात दशक लामो जनताको संघर्षपछि प्राप्त भएको संविधानसभामार्फत जारी गरिएको संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताउँदै केन्द्रीय अधिकारलाई स्थानीय तहमा विकेन्द्रित गर्ने व्यवस्था कार्यान्वयन भएपछि उनीहरुको प्रशासनिक सुगमतामा पहुँच बढ्ने बताउनुभयो ।


ADVERTISEMENT

# # #


स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीयवासीको अनिवार्य सहभागिताको व्यवस्थाले जनताप्रति पारदर्शीता र जिम्मेवारीको भावना विकास भई देशले आर्थिक समृद्धि कायम गर्ने उहाँको भनाइ थियो ।

संघका अध्यक्ष डिवी गुरुङ, नेपाल चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष दिनेश पाख्रिन लगायतले मुलुकमा बसोबास गर्ने विभिन्न जाति समुदायका संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउने हुँदा कलाकार त्यसतर्फ चनाखो भई सामाजिक सद्भावका लागि क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा कलाकार अमृता लुङ्गेली मगरले नेपाली कला तथा संस्कृतिलाई संरक्षण गरी अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै सामाजिक एकताको गीत सुनाउनुभयो ।