काठमाडौँ – काठमाडौँ महानगरपालिका–१ स्थित ऐतिहासिक कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागिएको भन्दै सम्पदा बचाउ अभियानले बिरोध जनाएको छ । महानगरपालिकाका प्रमुख इञ्जिनीयर सरोज बस्नेतले निर्माण गर्नुअघि प्रस्तुत गरेको योजनाभन्दा उल्टो गरी कमलपोखरी बनाउन लागिएकामा अभियानले आज स्थलगतरुपमै बिरोध जनाएको छ । अभियानका युवाले सिमेन्ट र कङ्क्रिटको कमल जताततै फुलाउन सकिने भएकाले कमलपोखरी प्राकृतिकरुपमै विभिन्न प्रजातिका कमल फुलाउनुपर्नेमा जोड दिएको हो ।


ADVERTISEMENT


कमलपोखरी निर्माणका लागि दशैँअघि नै पानी सुकाएकामा अझै काम अघि बढ्न सकेको छैन । लामो समयदेखि पानी निकाल्दा पोखरीमा चिरा–चिरा परेको छ । लामो समयसम्म पानी नहाल्ने हो भने पोखरीको अस्तित्व नै सङ्कटमा पर्ने भएकाले बिरोधमा उत्रनुपरेको अभियानकर्मी सुसन वैद्यले बताए । अभियानकर्मीले पोखरीको माटो अनुहारमा दलेर सम्पदा जोगाउने ‘प्ले कार्ड’सहित प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


पोखरी निर्माणका लागि विसं २०७६ असार १९ गते शिलान्यास गरिएको थियो । शिलान्यास असार १९ गते गरिए पनि कार्यादेश भने असार ६ गते नै दिइएको थियो । विसं २०७७ असार १५ गते नै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकामा कमलपोखरी निर्माण अझै अलपत्र छ । महानगरपालिकाका प्रमुख इञ्जिनीयर बस्नेत ढुङ्गाको अभाव भएर काममा ढिलाइ भएको जिकिर गर्छन् ।

लिच्छविकालीन नौ पोखरीमध्येको एक पोखरी कमलपोखरीमा अध्ययन विना नै सिमेन्ट र कङ्क्रिटको प्रयोग गरिएकामा पनि सम्पदाप्रेमी एवं स्थानीयवासीले बिरोध जनाएका छन् । गहनापोखरी, बच्चापोखरी, नागपोखरी, हिटीपोखरी, हाँडीगाउँपोखरी पनि नौ पोखरीमध्येमा पर्ने बुढापाकाको मुखबाट सुन्दै आएको सामाजिक अभियानकर्मी दिवस ढुङ्गेल बताउँछन् ।

कमलपोखरीका सम्बन्धमा अर्को भनाइ पनि स्थानीयवासीमाझ प्रचलनमा छ । यहाँका लालदरबार र सीता दरबार निर्माणका क्रममा कमलपोखरीको माटो निकालिएको थियो । माटो निकालेपछि वर्षाद्मा परेको पानी जम्मा भएर पोखरी बन्यो । पोखरीमा एक वृद्धले टौदहबाट कमलको फूल ल्याएर रोपे । अर्को वर्ष कमलले पोखरी ढाकिएकाले पोखरीको नाम कमलपोखरीमा परिणत भएको भन्ने भनाइ यहाँ सुन्न पाइन्छ । यसलाई नै आधार मान्ने हो भने पोखरीको इतिहास १०० वर्षभन्दा पुरानो हुने भएकाले यसको संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ ।

एक वर्षअघिसम्म प्राकृतिकरुपमा रहेको कमलपोखरीको वरिपरि सिमेन्टको पेटी लगाएर घाट बनाइ पोखरीको आकारसमेत घटाइएको स्थानीयवासी रोशन श्रेष्ठको गुनासो छ । निर्माण गर्दा पुरातात्विक तरिकाले प्राचीन निर्माण सामग्री नै प्रयोग गरेर गर्नुपर्नेमा त्यसो हुन नसकेको सम्पदा बचाउ अभियानका वैद्य बताउँछन्।

“कमलपोखरीमा सबै प्रजातिका कमल फुलाउने योजना हुनुपथ्र्यो, सिमेन्ट र कङ्क्रिटको कमल राखेर यसको महत्व कम गर्न खोजिएको छ, कङ्क्रिटको कमल जताततै फुलाउन सकिन्छ, यसैले यो निकृष्ट डिजाइन हो, यसको बिरोधमा हामी लागेका छौँ”, उनले भने । कमलपोखरी सिमसार क्षेत्र भएकैले वर्षामा जमेको पानी वर्षभर बसेर प्राकृतिक सौन्दर्य कायम गरेकामा यसको महत्व योजनाकर्ताले बुझ्न नसकेको अभियानकर्मी दिवस ढुङ्गेल बताउँछन्। निर्माण व्यवसायीले चाइनिज इँटा ल्याएर दचि इँटा भनेकामा पनि उनको आपत्ति छ । यसको गुणस्तर परीक्षण गर्न स्थानीयवासी र सम्पदा बचाउ अभियानले माग गरेको छ ।

कमलपोखरी निर्माणका लागि २०७६ फागुनमै महानगरीय प्रहरी वृत्त कमलपोखरी मालीगाउँमा सरेको हो । वृत्त सरेको एक वर्ष हुन लाग्दा पनि काम भने अझै अलपत्र छ । प्रहरीको भवनमा अझै ट्राफिक प्रहरी प्रभाग भने बसिरहेको छ । विसं २०२१ को नापीअनुसार कमलपोखरीको जग्गा ४० रोपनी रहेकामा हाल ३२ रोपनी मात्र छ । मत्स्य विकास केन्द्रका नाममा पूर्जा रहेको यहाँको जग्गाको संरक्षणसमेत सरोकार भएका निकायले नगरेको गुनासो स्थानीयवासीको छ ।

कमलपोखरीमा कार्तिक शुक्ल षष्ठीका दिन छठ मेला लाग्ने गर्छ । यसबेला हजारौँ छठ वर्तालुको भीड लाग्ने गर्छ, तर पनि कमलपोखरीमा पार्किङको व्यवस्था नभएकाले भूमिगत पार्किङ बनाउन कमलपोखरी संरक्षण समाजले माग गर्दै आएको महासचिव राजेन्द्र सिंह बताउँछन् । नजिकैको अग्रवाल भवनमा कुनै कार्यक्रम हुँदासमेत सडकमै सवारी पार्किङ हुने गरेको छ । यो समस्या कमलपोखरी निर्माणकै क्रममा समाधान गर्न समाजले माग गर्दै आएको छ ।

यस क्षेत्रमा आगलागी हुँदा निभाउन दमकल बोलाएर पानी हालिसकेपछि थप स्रोत नहुँदा समस्या पर्ने गरेको छ । “गत महिना सिटी सेन्टरमा आगलागी भएपछि दमकल बोलाइएकामा पानी हालेर फेरि पानी लिन जाँदा आगो बढ्यो, पानीको स्रोतमा पुगेर पानी हालेर आउँदा क्षति बढी भएकाले यहीँ आगलागीजस्ता प्रकोप व्यवस्थापन गर्न पानीको व्यवस्था गरिनुपर्छ”, उनले भने ।

महानगर प्रमुखको ‘ड्रिम प्रोजेक्ट’ कमलपोखरी

महानगरपालिकामा २०७४ मा जनप्रतिनिधि निर्वाचित भएपछि त्यसै वर्ष छठ पर्वमा नगर प्रमुख विद्यासुन्दर शाक्य कमलपोखरी पुगेका थिए । छठमा अव्यवस्थित कमलपोखरी देखेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आकर्षक बनाउन निर्देशन दिए । सोअनुसार महानगर प्रमुख शाक्यले ‘ड्रिम प्रोजेक्ट’का रुपमा अघि बढाउन काम शुरु गरेअनुसार रु नौ करोड ४६ लाख ९९ हजार ५०२ को लागत स्टमेट तयार भयो ।

निर्माण कम्पनी जय धनञ्जय÷कँडेल जेभीले रु छ करोड ३६ लाख ५९ हजार ६०४ मा ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले लिएको रकममा महानगरका प्रमुख इञ्जिनीयर बस्नेतले सम्पदाप्रेमीसहित सरोकार भएका निकायका अधिकारी राखेर गरेको प्रस्तुति अनुसारको कमलपोखरी बन्न नसक्ने स्थानीयवासीको भनाइ छ । रासस