ईन्द्र बानियाँ,


ADVERTISEMENT


युवानेता, नेपाली काँग्रेस


ADVERTISEMENT

# # #


संसद् विघटनको विषयमा काँग्रेसले खास धारणा चाहिँ के हो ?

प्रधानमन्त्रीले जुन कदम चाल्नुभएको छ यो संविधानको मर्म र भावना विपरित लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउने असंवैधानिक कदम हो । यो संविधानकै बर्खिलाप हो । प्रधानमन्त्रीको यस कदमको काँग्रेसले विरोध गर्छ, गरिरहेकै छ । सरकारको यस असंवैधानिक कदमको काँग्रेसले १६५ निर्वाचन क्षेत्र, १३० प्रदेश सभा र ७५० गाउँपालिकामै विरोध गर्छ । तर अहिले सर्वोच्चमा यसको सुनुवाइ भइरहेको छ । सरकारको यस कदमको विरोध गरिरहँदा न्यायपालिकालाई दबाब दिने कुनै पनि अप्रजातान्त्रिक काम हामी गर्दैनौँ । न्यायपालिका स्वतन्त्र छ, अदालतको सम्मान गर्दै हामी सर्वोच्चले गर्ने निर्णयको सम्मानसहित स्वीकार गर्छौं ।

तपाई बाग्मती प्रदेश प्रतिपक्षी दलको नेता पनि हुनुहुन्छ । संघीय संसद्को विघटनसँगै यसको प्रभाव प्रदेशमा कस्तो पर्दैछ ?

संविधानअनुसार प्रधानमन्त्रीले संसद् विघटन गर्न नमिल्ने भएकाले प्रधानमन्त्री लोकतान्त्रिक क्रियाकलापको विरुद्धमा लाग्नुभएको छ । यसमा राष्ट्रपतिले पनि साथ दिइराख्नुभएको छ, त्यसैले उहाँ पनि विवादमा तानिनु भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उहाँले ३ जनाको नाम राष्ट्रिय सभाबाट सिफारिस गर्दा रोकेर राख्नुभयो, जुन प्रजातान्त्रिक थियो । तर यतिबेला अप्रजातान्त्रिक निर्णयको उहाँले एकदिन पनि नकुरेर, नहेरेर हस्ताक्षर गर्नुभयो । त्यसकारण सम्माननीय राष्ट्रपतिमाथि पनि यस सन्दर्भमा प्रश्नचिन्ह खडा भएको छ । प्रदेशहरूमा पनि यसको समस्या देखिन थालेको छ ।

प्रतिपक्ष दलको नेताको हैसियतले हामी के भन्छौँ भने संघीयता भनेको प्रदेश हो । त्यसकारण अहिले संघीय संसद् विघटनको प्रभाव प्रदेशलाई पनि परेको छ । 

एउटै पार्टीभित्र पनि अविश्वासको प्रस्ताव दर्ता हुन थालेका छन् ।

यो अवस्थामा नेपाली काँग्रेसले आफ्नो संसदीय दलको वैठक बसेर के गरी जाने कसरी जाने भन्ने विषयमा छलफल गर्छ । प्रदेश सभालाई पनि विघटनबाट बचाउनु छ, संघीय व्यवस्थालाई पनि टिकाउनुछ ।

त्यसैले नेकपाका दुबै पक्षसँग हामीले संवाद गरिरहेका छौँ । प्रदेश सभालाई बचायो भने संघीय व्यवस्था कमजोर हुँदैन । अदालतले दिएको निर्णयलाई सबैले मान्नुपर्छ । तर प्रदेशको हकमा नेकपा दुईवटा पार्टी नबनेसम्म एउटै पार्टीभित्रको अन्तरविरोधका कारण संसद्मा पेश भइरहेको अविश्वासको हकमा नेपाली काँग्रेस गम्भीर छ । यसलाई गम्भीर भएर पार्टीको संसदीय दलको वैठकले उपयुक्त समयमा उपयुक्त निर्णय गर्नेमा हामी तयार नै छौँ ।

नेपाली काँग्रेस सरकारमा जाने सम्भावना कत्तिको छ ?

सरकार पक्षले कुनैपनि सामाजिक र राजनीतिक निर्णय ठीक ढंगले गर्न सकेन, समाजलाई कुनै दिशा दिन सकेन, विकास दिन सकेन, समृद्धि दिन सकेन र जनतामा निराशा आयो भने प्रतिपक्ष भनेको स्वतः सत्ताका लागि तयार भएको पार्टी हो । त्यसैले हामी सरकारमा नजाने भन्ने कुरा रहेन । तर अहिले नेकपा एउटै पार्टी भएको अवस्थामा, पार्टीभित्रैबाट अविश्वास प्रस्ताव आएको अवस्थामा तत्काल हामी सरकारमा जाने पक्षमा छैनौँ । नेकपा दुईवटा पार्टी हो कि होइन भन्ने स्पष्ट नभएसम्म हामी यस सम्बन्धमा कुनै पनि निर्णय गर्दैनौँ ।

काँग्रेस सत्तामा जान आतुर छैन । देशको यो गम्भिर अवस्थामा निकासका लागि ठीक ढंगले के निर्णय लिनुपर्छ भन्नेमा काँग्रेस स्पष्ट र तयार छ ।

भोलिका दिनमा प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने अवस्था आएमा तपाईं मुख्यमन्त्रीको जिम्मेवारी लिन तयार हुनुहुन्छ ?

तत्काल हामी सरकारमा जाने तयारीमा छैनौँ । यो बेला सरकारको एक पक्षले अर्को पक्षको विपक्षमा अविश्वासको प्रस्ताव ल्याएर तयारी गरिरहेको छ ।

जुन दिन अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी दुईवटा बन्छ, त्यो बेला बाध्यात्मक परिस्थिति आइपर्यो भने संसदीय दलको छलफलपछि नेपाली कांग्रेसले सरकारमा जाने नजाने निर्णय गर्छ ।

त्यस्तो अवस्थामा मुख्यमन्त्रीका लागि एक किसिमको समझदारी भयो भने म जिम्मेवारी लिन तयार नै छु । तर, तत्कालका लागि सरकारमा जाने भन्ने हाम्रो कुनै तयारी भने छैन ।

सर्वप्रथमतः सबै नेपालीको भावना, आवश्यकता र अस्तित्वको प्रतिनिधित्व गर्दै वर्तमान संविधान र लोकतन्त्रको रक्षा गर्नु पहिलो दायित्व हुन्छ । नेपाली काँग्रेसले त्यो बाटो अवलम्बन गर्छ । त्यस बमोजिम प्रदेश र स्थानीय तहमा काँग्रेसले आफ्नो काम थाल्छ । साथसाथै सरकारले गर्ने गलत क्रियाकलापप्रति औँला उठाउने, त्यसको विरोध गर्ने काम पनि कांग्रेसले गर्छ ।
यो बेला सबैभन्दा ठूलो उपलब्धीका रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्र अप्ठ्यारो अवस्थामा आइपुगेको छ । त्यसको रक्षार्थ कांग्रेस लाग्छ ।
अब नेपाली काँग्रेस कसरी अघि बढ्दै छ ?

नेपाली काँग्रेस नेपाली जनताको जगमा उठेको पार्टी हो ।

राजा, माओ, लेनिनको नाममा राजनीति गरेको पार्टी होईन नेपाली काँग्रेस । काँग्रेस त जनताको नाममा लोकतन्त्रका लागि राजनीति गरेको पार्टी हो  ।

जनताकै जगमा उभिएर राणा, राजा हटाएर गणतन्त्र स्थापना गरेको पार्टी हो काँग्रेस । त्यसकारण आउँदो निर्वाचनमा काँग्रेसलाई नेपाली जनताले प्रचुर बहुमत दिन्छन् भन्नेमा हामी विश्वस्त छौँ ।

बहुमतको बाटोमा हिँड्नलाई हामी नेपाली काँग्रेसका आम नेतृत्व, कार्यकर्ता जनताको वस्ती वस्ती र घरदैलोमा गएर कम्युनिष्ट भनेको मजदुर, किसान, गरीबहरुलाई सर्वनास गर्ने पार्टी रहेछ, न उद्योगी न व्यापारी न किसान, न श्रमिक कसैको पनि पार्टी होईन भन्ने तथ्यलाई प्रमाण सहित बुझाउछौँ ।

अबको नेतृत्व काँग्रेसले गर्छ र हरेक नेपालीलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारी प्रदान गर्दै देशको विकास र समृद्धिका लागि काम गर्छ ।

जनता त पार्टीहरुलाई विश्वास गर्दा गर्दै आजित भईसके । के अबको चुनावमा नेपाली काँग्रेसले बहुमत ल्याउँछ त ?

जनताले जे दिन्छन् त्यो हामी स्वीकार्छौं। तर हामीलाई विश्वास छ जनतले अबको निर्वाचनमा हामीलाई दुई तिहाई बहुमतले विजयी गराएर पठाउँछन् ।