उदयपुर – काँग्रेस नेता नैनसिँह महरले कम्युनिष्टलाई विश्वास गर्नु नै नेपालीहरुको ठूलो भ्रम भएको बताएका छन् । काँग्रेसले उदयपुरको मुर्कुचीमा गरेको विरोध कार्यक्रममा सहभागी हुँदै उनले कम्युनिष्ट शक्ति मुलुकका लागि दुर्भाग्य साबित भएको बताए ।


ADVERTISEMENT


उनले भने, ‘कम्युनिष्टलाई विश्वास गर्नु नै आम नेपालीको ठूलो भ्रम थियो र हो ।’ नेकपामा बढेको ध्रुवीकरणले देशमा थप अस्थिरता ल्याएको भन्दै नेता महरले नेकपा दुवै गुट आजको संकटमा मतियार भएको आरोप लगाए ।


ADVERTISEMENT

# # #


नेकपाका नेताले बाटो काटेपछि लौरो नै भाँच्ने प्रवृत्ति देखाएको जिकिर उनले गरे । ‘जुन मतदाताले नेकपालाई पत्याएर दुई तिहाइसहित सत्तामा पठाए तिनैमाथि गम्भीर अन्याय गर्ने?’ महरले भने, ‘अहिले नेकपाका कुनै पनि नेतालाई जनतामा जाने कुनै नैतिक बल बाँकी छैन ।’

नेकपाले मुलुकलाई खाल्डोमा हालिसकेकाले यसलाई जोगाउने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउँदै उनले आफूहरु यसका लागि तयार भएको बताए ।

प्रचण्ड–नेपाल र ओली दुबै समूहका कारण लोकतन्त्र संकटमा परेको उनको भनाइ थियो । यस ध्रुवीकरणबाट हुने दुर्घटना रोक्ने जिम्मेवारी अदालतको काँधमा परेको बताउँदै उनले सर्वाेच्चको निर्णयमा जति ढिलाइ हुन्छ त्यति नै मुलुक दुर्घटनामा जाने बताए ।

‘अदालतकाप्रति नागरिकको ठूलो आस्था र विश्वास छ’, महरले भने, ‘सर्वोच्चको निर्णयमा जति दिन ढिलाई हुन्छ त्यत्ति नै मुलुक ध्रुवीकरणको बाटोमा अगाडि बढ्छ । यसले मुलुकमा फेरि संकट थपिँदै जान्छ ।’