काठमाडौँ – २०१९ डिसेम्बरदेखि शुरू भएको कोरोना महामारीका कारण आक्रान्त विश्व समुदाय यतिबेला भाइरसविरुद्धको खोपको तीव्र प्रतीक्षामा छ । संक्रमणका कारण साढे ८ करोड बढी संक्रमित भइसकेकोमा १९ लाख बढीले ज्यान गुमाइसकेका छन् ।


ADVERTISEMENT


संक्रमण रोक्न विश्वमा केही खोपहरु आकस्मिक प्रयोगमा आइरहेकामा ११ वटा खोप थर्ड फेज ट्रायलमा छन् भने एक सयभन्दा बढी खोपमा अनुसन्धान भइरहेको छ । खोप बन्न थालेसँगैँ विश्वमा विभिन्न मुलुकले प्रि–अर्डर गर्न शुरु गरिसकेका छन् भने अमेरिका, चीन, कोस्टारिका, रसिया, चिली, बेलारुस लगायतका देशले खोप लगाउन थालिसकेका छन् । हाम्रै छिमेकी मुलुक भारतले पनि खोपको प्रि–अर्डर गरेको छ भने आफै पनि खोप निर्माण गरिरहेको छ ।


ADVERTISEMENT

# # #


अन्य देशहरुले कोरोना खोप खरीदको प्रक्रिया अघि बढाइसकेकोमा नेपाल भने अझैँ अनुदानको खोपको प्रतीक्षामा रहेको छ । नेपालले हालसम्म कुनै पनि खोपको प्रि–अर्डर गरेको छैन ।

यतिबेला अमेरिकास्थित फाइजर कम्पनीले बनाएको खोप ९० प्रतिशत प्रभावकारी भएको दाबीसहित प्रयोगमा आइरहेकोमा नेपालले उक्त खोप प्राथमिकतामा राखेको छैन । उक्त खोपको माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुँदा त्यस्तो पूर्वाधार बनाउनै कम्तीमा ६ महीना लाग्ने भएकाले अन्य खोपलाई प्राथमिकतामा राखिएको कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतिले बताए । उनकाअनुसार अमेरिकी कम्पनी मर्डेनाबाट पनि भ्याक्सिन खरीदका लागि कुटनैतीक पहल गरिएकोमा उक्त भ्याक्सिन महँगो भएकाले भारतीय खोपलाई प्राथमिकतामा राखिएको छ ।

सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), ‘गाभी’ र ‘सेपी’ नामक तीन संगठनले ‘कोभ्याक्स सुविधा’अन्तर्गत पहिलो चरणमा ३ र दोस्रो चरणमा १७ प्रतिशत जनतालाई पुग्नेगरी नेपाललाई निःशृुल्क खोप दिने निर्णय गरेको छ । सरकार उक्त खोपको प्रतीक्षामा रहेको छ । यद्यपि, डब्लूएचओले २०२१ को अगस्टसम्ममा मात्र ‘कोभ्याक्स सुविधा’मा विभिन्न देशमा खोप पठाउन सकिने बताइसकेको छ । ‘डब्लूएचओबाट स्वीकृत भएपछि कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत खोप प्राप्त गर्छ,’ कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजक डा. उप्रेतिले बताए ।

यस्तै, परराष्ट्र मन्त्रालयले भारतले कोभिड भ्याक्सिन खरीद गर्दा नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप पनि खरीद गर्न सहयोग मागेको छ । भारतले १ करोड ६० लाख खोप प्रि–अर्डर गरेकोमा उक्त खोप खरीदपछि भारतले नेपाललाई सहयोग गर्ने विश्वास सरकारको रहेको छ । आगामी माघ पहिलो साता नेपाल भारत–संयुक्त आयोगको वैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली दिल्ली जाँदैछन् । उक्त भ्रमणमा खोप आयातको विषयमा केही विशेष निर्णय हुन सक्ने विश्वास गरिएको छ । यसअघि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पनि भारतसँग खोप खरीदका लागि छलफल गरेकोमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा खोपको विषयमा केही निश्कर्षमा पुग्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । द हिन्दूस्तान टाइम्समा हालै प्रकाशित एक समाचारले भारतमा उत्पादित खोप नेपालमा निर्यात गर्नेबारे छलफल हुने बताएको छ । यसअघि पनि भारतले खोप उपलब्ध गराउने एक चरणको सामान्य सहमति भइसकेकोमा भारतीय खोप प्राथमिकतामा राखिएको कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजक डा. उप्रेतिले बताएका छन् ।

गत साता मात्र भारतमा खोप निर्माण गरिरहेको सेरम इन्स्टिच्यूटका वरिष्ठ अधिकारी तथा भारतको नीति आयोग प्रमुखसँग राजदूत आचार्यले छलफल गरेकोमा भारत खोप पठाउन सकारात्म देखिएको उप्रेतिको भनाइ छ ।

यता, अर्थ मन्त्रालयले कोरोना खोप खरीदका लागि अर्थ मन्त्रालयले अनुमति दिइसकेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना खोप आयातका लागि स्रोत सुनिश्चितता गरिदिन अर्थमा पत्राचार गरिएकोमा अर्थले गत साता खोप खरीद गर्न स्वास्थ्यलाई अनुमति दिएको हो ।

स्वास्थ्य मन्त्रालयले ३ चरणमा खोप खरीद गर्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बतँए । उनकाअनुसार पहिलो चरणमा ३ प्रतिशत नेपालीलाई पुग्ने गरी खोप खरीद गरिनेछ, जसको लागत करीब रु. ४८ करोड हुने अनुमान गरिएको छ । यद्यपि, मन्त्रालयले हालसम्म खोप खरीदका लागि प्रक्रिया अघि बढाइसकेको छैन । गौतमले भने, ‘नेपालमा खोप ल्याउने गृहकार्य भइरहेको छ तर अझैँ कुन खोप राम्रो भनेर थाहा नभइसकेकाले ढुक्कका साथ प्रक्रिया अघि बढाउन सकिएको छैन।’

यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।