काठमाडौँ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गतेदेखि सर्बसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनीले हालसम्मकै सर्वाधिक रू। ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न लागेको हो । प्रतिशेयर रू। १०० अंकित दरको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीको मिति तय गरिएको छ । कम्पनीले आईपीओ विक्रीका लागि पुस २१ गते आव्हान पत्र सार्वजनिक गर्दैछ ।


ADVERTISEMENT

# # #


कम्पनीले आईपीओ विक्रीको अनुमति माग्दै गत मंसिर ८ गते बोर्डमा निवेदन दिएकोमा पुस १० गते अनुमति पाएको हो । अधिकत पूँजी रू। ४० अर्ब र जारी पूँजी रू। २० अर्ब रहेको कम्पनीको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । संस्थापकतर्फ कम्पनीमा हाल ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत हिस्सा शेयर विक्री गर्न लागेको हो ।

सर्वसाधारणमा आईपीओ बाँडफाँट पश्चात जारी पूँजी बराबरको रकम कायम हुनेछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्ने छ भने प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।

देशभित्र र बाहिरबाट लगानीको दिर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधकार विकासका परियोजनामा मात्र लगानी गर्ने उदेश्यसहित उक्त कम्पनीको स्थापना भएको हो । नेपाल राष्ट्र बैंकबाट विसं २०७५ साल माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा काम गर्ने स्वीकृति पाएको कम्पनीले २०७५ फागुन २२ गतेदेखिनै औपचारिक रुपमा बैंकिङ व्यवसाय शुरु गरेको हो । यो कम्पनी नेपालको पहिलो पूर्वाधार विकास बैंक हो ।

उक्त कम्पनीमा नेपाल सरकारको समेत लगानी रहेको छ । धितोपत्र प्राथमिक बजारमा हालसम्मको ऐतिहासिक रेकर्ड कायम गर्दै प्रभु लाइफको आईपीओमा १० लाख ९२ हजारभन्दा बढीले आवेदन दिएका थिए ।

हालसम्मकै ठूलो संख्यामा आईपीओ विक्री गर्न लागेको उक्त कम्पनीको आईपीओमा पनि ११ लाखभन्दा बढीको आवेदन पर्ने अनुमान गरिएको छ । उक्त कम्पनीको आईपीओ भने सबै आवेदकले पाउनेछन् ।