काठमाडौं – मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ ।


ADVERTISEMENT


पानी काठमाडौंमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको लिमिटेडले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


यसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरेको र समाधानका लागि के गर्ने भन्ने तयारी अघि बढाइएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

उनका अनुसार लिमिटेडले खानेपानी वितरणका लागि तालिका पनि बनाइएकामा त्यसमा मन्त्रालय र बोर्ड पनि सहमत भइसकेका छन् । उपत्यकामा अहिले पानी वितरण भइरहेको पाइप सयौँ वर्ष पुरानो भएकाले चुहावट बढी हुनसक्छ ।

चुहावट मर्मतका लागि चाहिने सामग्री खरिद अघि बढाइएको उनले जानकारी दिए । एकै पटक धेरै जनशक्ति चाहिने हुँदा निर्माण कम्पनीको सूची तयार गरेर राखिएको छ । उनले भने, ‘त्यो सूची भएपछि एकै पटक धेरैलाई परिचालन गर्न सकिनेछ ।’

पानी मर्मतको सिलसिलामा पाइपको पानी बाहिर पठाउनुपर्ने हुँदा त्यसको समेत तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । लिमिटेडले नियमित मर्मतसँगै मेलम्चीको पानी आएपछि थप चुहावट हुनसक्ने भनी तयारी अघि बढाएको छ ।

गत साउनमा मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी हाल्ने भनेपछि तयारी अघि बढाइएको थियो । अहिले पनि पुरानो पाइपमा चुहावट खाज्दै भेटिएका स्थानमा टालिएको लिमिटेडले जानकारी दिएको छ । अहिले देखिएका स्थानमा चुहावट टालिएको र अरु ठाउँमा देखिनासाथ टाल्न तयारी अवस्थामा बसिएको उनको भनाइ छ ।

पुरानो पाइपबाट वितरण गर्दा कतै पानी नपुग्ने ठाउँ हुनसक्ने भएकाले ती ठाउँ पहिचान गरी जडानमा ध्यान दिइनेछ । उनले भने, ‘कतै जडान गर्नुपर्ने त कतै हटाउनुपर्ने हुनसक्छ ।’

पानी वितरणका लागि व्यवस्थापन गर्न प्रमुख कार्यकारी अधिकृत शाक्यको अध्यक्षतामा खानेपानी मन्त्रालय, निर्देशनालय र बोर्डका प्रतिनिधि रहने गरी समिति बनाइएको छ । खानेपानी मन्त्रालय र आयाजनाले सुरुङमा रहेका त्रुटि हटाइसकेर छिट्टै परीक्षण गर्ने गरी तयारी अघि बढाइरहेको छ । रासस