काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ जित्ने देशमा नेपाल राम्रो गर्नेको पङ्तिमा रहेको बताएका छन् । ज्यापु संस्कृति विकास कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले आवश्यक स्वास्थ्यका पूर्वाधारको विकास गर्दै सङ्क्रमण कम गरिरहेको बताए ।


ADVERTISEMENT


पछिल्लो समय आएर सङ्क्रमण निको हुनेको सङ्ख्या बढिरहेको उनको भनाइ छ । सरकारले कुनै पनि तयारी नभएको अवस्थाबाट अहिले ८० भन्दा बढी स्थानमा कोभिड परीक्षण गर्ने अवस्थामा पुगेको उनले बताए । उनले भने, “पहिलो केस हामीले हङकङ पठाएका थियौँ भने अहिले धेरै ठाउँमा परीक्षण र उपचार गर्ने व्यवस्था मिलाइएको छ ।”


ADVERTISEMENT

# # #


मन्त्री पोखरेलले ज्यापु समाजको रचनात्मक सुझावका कारण सरकारले गुठी विधेयक सच्याएको बताए । यो समुदायले सङ्गठित र एकीकृतरुपमा आफ्ना माग सरकारलाई बुझ्ने गरी राखेको उनको भनाइ छ । देशकै कतिपय ठाउँका गुठीले सामन्तवादलाई बढावा दिए पनि काठमाडौँ उपत्यकाका गुठीले धर्म र संस्कृतिलाई बढवा दिइरहेको उनले बताए । उनले भने, “यहाँका गुठी जनताको सम्पत्ति हो र यिनलाई यसरी नै अघि बढाउनुपर्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यो दिवसप्रति सरकारको सहयोग र सद्भाव रहँदै आएको बताए। कोषमा अहिलेसम्म रु ६० लाख भएकामा रु ४० लाख थप गर्न गरिएको आग्रहमा उनले त्यसप्रति सरकार सकारात्मक रहेको बताए । उनले केन्द्र सरकार र स्थानीय सरकार दुवैले जात्रा, पर्व र संस्कृति संरक्षणमा चासो दिइरहेको जनाए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहलगायतले ज्यापु समाजले आफ्नो संस्कृतिको उत्थान र विकासमा लागिपरेको बताए । रासस