काठमाडौँ – फेवाताल बीचमा रहेको  प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गतचैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणको लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए ।
“लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटक आए पनि  मन्दिर खुला नभएपछि त्यसै फर्कने गरेका थिए, अब मन्दिर खुला गरेका छौँ । पर्यटक आउने विश्वास छ ।” उनले भने । उनले मन्दिर प्रवेशका लागि भौतिकदूरी कायम गर्दै एउटा मात्र बाटोको प्रयोग गरिने र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी दिए ।
उनका अनुसार मन्दिर बन्द रहेको अवस्थामा पूजारीमार्फत नित्य पूजा हुँदै आएको थियो । मन्दिर खुलेसँगै डुङ्गा चालकले खुशी व्यक्त गरेका छन् । दश वर्षदेखि डुङ्गा चलाउँदै आएका बाबुराम पुरीले भने, “मन्दिर बन्द हुँदा डुङ्गा सयर गर्नेको लागि मात्र त्यति पर्यटक आएका थिएनन् । धेरै जसो आन्तरिक पर्यटक धार्मिक आस्था लिएर मन्दिरको दर्शनको लागि आउँथे, अब मन्दिर खुला भएपछि आन्तरिक पर्यटक आउने विश्वास बढेको छ । ” उनले लामो समय कोभिड– १९ को असरमा परेका डुङ्गा चालक अब चहलपहल बढ्छ कि भन्ने आशा रहेको बताए । रासस