काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले ‘राजा आऊ देश बचाऊ’को नारा लगाउँदै प्रदर्शन गरिनुमा कम्युनिस्ट सरकारकै जिम्मेवार रहेको दाबी गरेका छन् ।


ADVERTISEMENT


सोमबार मकवानपुरको हेटौँटामा सरकारविरुद्धको प्रदर्शनमा बोल्दै सभापति देउवाले कम्युनिस्ट सरकारकै कारण राजावादीहरु सल्बलाएको दाबी गरे । “आज ‘राजा आऊ देश बचाऊ’ भन्दै प्रदर्शन गरिरहेका छन् । यो पनि कम्युनिस्ट सरकारकै कारणले भएको हो ।” उनले भने, “यसमा कम्युनिस्ट सरकार जिम्मेवार छ । नत्र भने उनीहरुको त्यत्रो हिम्मत कहाँ थियो ?” यद्दपी उनले राजा फर्किने कुरा सम्भव नरहेको बताए ।


ADVERTISEMENT

# # #


सभापति देउवाले कम्युनिस्टको सरकार बनेदेखि देशमा बलात्कारका घटना बढिरहेको दाबी गरेका छन् । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले नेकपाकै नेतृत्वको संलग्नता रहेको स्पष्ट भएको उनले जिकिर गरे ।

देउवाले जिकिर गर्दै भने, ‘आज बलात्कारका घटना बढेका छन् भने ओली सरकारको कारणले बढेका छन्, ओलीको कारणले बढेका छन् । कम्युनिस्ट सरकारको कारणले बढेका छन् ।’

नेकपाको सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्ने प्रयास गरेको भन्दै सभापति देउवाले कांग्रेस र लोकतन्त्रवादीहरुका अगाडि धेरै ठूलो चुनौति खडा भएको बताए । ‘कम्युनिस्टहरुले जितेपछि बोल्न पाइने छैन, हाँस्न पाइने छैन, रुन पनि पाउने छैन भनेको थिएँ ।’ देउवाले भने , ‘आज रोयो भने पनि किन रोइन भनेर आउन बेर छैन । धेरै ठाउँमा रुन थालेपछि पक्रिएर लैजान्छ । चाहे कोरोना लागेर रोएको होस् वा औषधि नपाएर ।’

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईंमा प्रमुख प्रतिपक्षीका रुपमा सरकारलाई कांग्रेसले पूरा सहयोग रहेपनि सरकार भ्रष्टाचारमा लिप्त भएको देउवाले आरोप लगाए । ‘मैँले ओलीलाई भनेको थिएँ, कोरोनाविरुद्ध लड्नलाई हाम्रो बिनाशर्त सहयोग हुन्छ । तलब, दशैँखर्च पनि हामीले दियौँ । सरकारलाई पूरापूर सहयोग हुन्छ भनेका थियौँ ।’ उनले भने, ‘तर, सरकारले क्वारेन्टिनमा पनि घुस खाने, भ्रष्टाचार गर्ने काम गर्‍यो ।’

सरकारविरुद्धको प्रदर्शनमा आएको लहरले जनता कम्युनिस्ट सरकारबाट वाक्क भइसकेको देखिएको भन्दै देउवाले जनतालाई वर्तमान सरकारबाट मुक्त पार्नका लागि देशभर आन्दोलन गर्नुपर्ने बाध्यता रहेको बताए ।