चितवन– चितवनको इच्छाकामना ५ मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन गरिएको छ । सिर्जनशिल महिला जागरण केन्द्र र मुग्लिन युवा मञ्चले विपन्न वर्गलाई निःशुल्क कपडा दिने अभियानका रुपमा केन्द्र सञ्चालनमा ल्याएका हुन् ।
शनिबार पहिलो दिन ती दुई संस्थले रु २० हजारको कपडा खरिद गरी वितरण गरेका छन् । साथै मुग्लिनका स्थानीयहरुबाट सहयोग प्राप्त न्यानो कपडा गाउँपालिकाभित्रका अतिविपन्न १५० जनालाई वितरण गरिएको सिर्जनशील महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष सावित्री पुडासैनीले जानकारी दिए।
उक्त निःशुल्क कपडा वितरण केन्द्रमा जो कोहीले पनि सहयोग गर्न सकिने अध्यक्ष पुडासैनीले बताए । हुनेले दिने र नहुने जो कोहीले पनि कपडा लैजान सक्ने अध्यक्ष पुडासैनीको भनाइ छ । सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले यस केन्द्रमा कपडा सहयोग गर्न सक्ने र नहुनेले लैजान सक्ने उनले बताए । निःशुल्क कपडा वितरण केन्द्रका लागि मुग्लिनका स्थानीय त्रिवेणी ग्रील एण्ड सटर उद्योगका सञ्चालक रामहरि कडेँलले घर उपलब्ध गराएका छन् । रासस