काठमाडौँ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्माओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा जेल बसेको दाबी गरेका छन् ।


ADVERTISEMENT


तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले ओलीलाई कतिपयले लोकतन्त्तका लागि १४ वर्ष जेल बसेको बताइरहे पनि उनी ज्यान मुद्दामा जेल बसेको जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘केपी ओली लोकतन्त्रका लागि जेल बसेको भन्ने सुनिन्छ । होइन, ज्यान मुद्दामा बसेका हुन् ।’ वरिष्ठ नेता पौडेलले भने, ‘जोशमा आएर झापा काण्ड घटिहाल्यो । बुटन चौधरीको हत्या भइहाल्यो । अनि जेल परिहाले । अनि यो लोकतन्त्रका लागि हो ?’

बयल गाढा चढेर अमेरिका पुगिन्न भन्ने ओली लोकतन्त्र र संघियता विरोधी भएको भन्दै नेता पौडेलले राष्ट्रिय षड्यन्त्रका कारण ओली राष्ट्रवादको हिरो भएको दाबी गरे । उनले भने, ‘राष्ट्रवादको हिरो त देखिहालियो नि अस्ति । विदेशी गुप्तचरसँगको ३ घण्टा राती के गरेको ? यही हो राष्ट्रवाद ?’ उनले केपी ओली सुध्रिए होलान् भन्ने कुरा आफूलाई लागे पनि सुध्रिने कुनै छाँटै नदेखिएको बताए । कम्युनिस्टहरु कहिल्यै लोकतन्त्रवादी हुन नसक्ने बताउँदै भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन । यो कुरा हिजै देखियो ।’

नेता पौडेलले लोकतन्त्रको सुधारका लागि आन्दोलनको सुरुवात भएका बताए । उनले विकास निर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न समेत आग्रह गरे । उनले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि सङ्घर्ष गर्नुपर्नेमा पनि जोड दिए ।

उनले बुधबार पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले दमन गरेको आरोप पनि उनले लगाए ।