काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेका छन् ।


ADVERTISEMENT


चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई मतदान गर्ने निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिएका छन् । महासंघको नेतृत्व गर्ने व्यक्ति हरेक हिसाबले सबल र समक्ष हुनुपर्ने भन्दै उनले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको विकल्प नरहेको समेत बताए ।


ADVERTISEMENT

# # #


‘हामी उद्योगी व्यवसायीका लागि जतिबेला समस्या पर्दा पनि उपलब्ध भएर समस्या समाधानमा खटिने ढकालजस्तो व्यक्तिलाई धेरै समयपछि नेतृत्वमा पाएको छौं,’ उनले भने । कार्यक्रममा उपस्थित गण्डकी प्रदेशका १३ जिल्ला तथा नगरका अध्यक्षहरुले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारीलाई जिताउनु आफुहरुको दायित्व रहेको समेत बताएका छन् ।

‘वाग्लुङ जिल्लामा जन्मिएर सानो व्यवसायबाट सुरु गरी ठूलो व्यवसायसम्म सफलतापूर्वक संचालन गरिसकेका ढकाल र डेढ दशकदेखि जिल्ला नगरकै समस्यासँग जुध्दै आएका गुणनिधी तिवारीलाई नेतृत्वमा पाएको छौं,’ कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षहरुले एउटै स्वरमा भने, ‘हामी उद्योगी व्यवसायीका समस्यालाई सरकारसँग राख्दै समस्या समाधानका लागि पनि ढकाल प्यानललाई जिताउनु जरुरी छ ।’

सो कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षका साथै प्रदेशका पनि २० भन्दा बढी जिल्ला तथा नगरका अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा सबै उपस्थित जिल्ला नगरको अध्यक्षहरुको प्रतिनिधित्व गर्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले महासंघमा ढकाल प्यानलको विकल्प नभएको बताए ।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले जिल्ला नगरका अध्यक्षहरुको गुनासोलाई सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि यसअघि देखिएका जिल्ला नगरका साथीहरुको गुनासो आगामी दिनमा आउन नदिने वचनबद्धता व्यक्त गरे ।

‘सुदूरपश्चिमको धनगढीदेखि गण्डकी प्रदेशसम्म आइपुग्दा सबैजसो जिल्ला नगरका साथीहरुले नेतृत्वमा रहेका व्यक्तिहरुले फोन नउठाएको, महासंघको साख खस्कियो भन्ने गुनासो गर्नुभएको छ,’ उनले भने, ‘म महासंघमा पुगेसँगै यी दुवै समस्या तत्काल सम्बोधन हुनेछन् ।’

साथै आफ्नो ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको र आफु महासंघको नेतृत्वमा रहँदा वा नरहँदा पनि व्यवसायीक समस्या समाधानका लागि हरेक क्षण खटिने समेत उनको भनाइ थियो । अहिले व्यवसायीक नेतृत्वको लविङ नपुग्दा व्यवसायीमैत्री नीति नियमहरु आउन नसकेको बताउँदै उनले आफ्नो नेतृत्वमा व्यवसायीहरुको हक, हित र व्यवसायमैत्री नीति निर्माणमा आफूले पहल गर्ने बताए ।

यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले महासंघको विधानमा रहेको जिल्ला नगरको ५० प्रतिशत अधिकारको लागि पनि उक्त पदमा जिल्ला नगरकै प्रतिनिधित्व गर्ने व्यक्तिलाई जिताउनुपर्ने बताए । यसैगरी कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको खस्किएको साख उचो पार्दै व्यवसायीका समस्या समाधान गर्नकै लागि यसपटक चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमलाई जीताउनु पर्ने बताए ।

‘यस अघि नेतृत्वमा रहेका कतिपय साथीहरु केन्द्रिकृत भएर बस्नुभयो त्यसैले पनि तपाई जिल्ला नगरका साथीहरुले गरेका गुनासाहरु ठिक हुन,’ जिल्ला नगरका अध्यक्षहरुको गुनासो सम्बोधन गर्ने बचनबद्धता व्यक्तगर्दै उनले भने, ‘सबै जिल्लामा आफ्नो व्यापार व्यवसाय चन्द्रप्रसाद ढकाल र सबैलाई समेटेर अघि बढ्नेछ ।’