झापा – फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा एक हप्ताअघिदेखि नै माग बढेको हो ।


ADVERTISEMENT


गत वर्षदेखि व्यावसायिकरुपमा सयपत्री फूलको खेती शुरु गरेकी साहित्यकार खगिन्द्रा खुशीको बारीमा यतिबला ढकमक्क कलकत्ते जातको सयपत्री फूल फुलेको छ । भद्रपुर नगरपालिका–७ इलुबारीमा १० कठ्ठा जग्गा भाडामा लिएर उनले फूलखेती गरेकी हुन् । विगतमा सहकारीको साधारसभा, जिल्लामा हुने कार्यक्रममा समेत फूलको माला बेच्दै आएकी उनलाई यस वर्ष भने तिहारको माग धान्न मुश्किल छ । “फूल फूलाउनु मात्र पर्दोरहेछ, किन्ने व्यापारी बारीमै आउँछन्”, उनले भनिन् ।


ADVERTISEMENT

# # #


विर्तामोड नगरपालिका–४ मा पाँच जना महिला मिलेर १५ कठ्ठा जमीनमा सामूहिक फूलखेती गरेका छन्। गोमा भट्टराई, नैनकला भट्टराई, यशोदा चापागाई, शर्मिला अधिकारी र सुष्मा भण्डारीले लगाएको फूल पनि ढकमक्क फुलेको छ । “तिहारका लागि फूल राखिदिनुपर्‍यो भन्दै फोन गरेर नाम टिपाउने दैनिक १० देखि १५ जना छन्”, गोमा भट्टाराईले भनिन्, “विगतको तुलनामा खेती कम गरियो माग बढ्यो । माग धान्न समस्या पर्ने भयो । मालाको अडर आइरहेको छ ।”

उनले यसपालि लामो समय वर्षा परेका कारण विगतमा जस्तो फूल नफस्टाएको बताइन् । तीन हजारदेखि तीन हजार ५०० सम्म माला हुने अनुमान गर्दै उनले रु ५० देखि ६० सम्ममा प्रतिगोटा बिक्री हुने बताइन् । मेचीनगर–९ मा ‘डिएन्डडी बायोप्लान्टेक’ नामक कम्पनी दर्ता गरेर विगत छ वर्षदेखि नर्सरी व्यवसायमा लागेका डिल्लीराम उप्रेतीले गत वर्षदेखि १० कट्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरु गरेकी छन् ।

विगतमा भन्दा यस वर्ष सयपत्री फूलको मालाको माग बढिरहेको उनले बताए । “विगतमा भारतीय माला पनि आउथ्यो । यस वर्ष एशोसिएसन अफ नेपाली एग्रीकल्चर जर्नलिस्टले कोभिड–१९ का कारण भारतीय माला नल्याउने निर्णयसँगै हाम्रो फूलको माग बढेको छ”, उनले भने, “तर माग धान्न गाह्रो छ ।”

इलाम, मोरङ, सुनसरीलगायतबाट फूलको माग भए पनि आफ्नै जिल्लामा पु¥याउन गाह्रो भइरहेको उनले बताए । उनले विगतमा लक्ष्मीपूजाको दिन फूल टिप्न सयदेखि पाँच सय जनासम्म हुने गरे पनि यस वर्ष कोभिड–१९ का कारण एकपटकमा १० जनाभन्दा बढीलाई बारीमा पस्न नदिने बताए। “हामी तिहारमा माला उनेर बेच्न भ्याउँदैनौँ”, उनले भने, “बारीमा पसेर उहाँहरु आफैँले टिप्नुहुन्छ । प्रतिथुङ्गा डेढ रुपैयाँ गरेर रकम लिन्छौँ ।” सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ ।

जिल्लामा सयपत्री फूलको खेतीमा झार र रोगबाट जोगाउन सबै व्यवसायीले मलसिङ प्रविधि प्रयोग गरेका छन् । भुइँमा प्लास्टिक ओच्छ्याएर बिरुवा निस्कनका लागि मात्र दुलो पार्ने नयाँ प्रविधिलाई मलसिङ भनिन्छ । सयपत्री फूलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । एक कट्ठा र दुई कट्ठाका दरले यसको खेती लगाउने झापामा दर्जनौँ किसान छन् । उनीहरुले फूलको परनिर्भरतालाई हटाउन स्थानीय सरकारले किसानलाई प्रोत्साहनस्वरुप सुलभ कर्जा र अन्य अनुदानमा लगानी बढाउनुपर्ने बताए । रासस