काठमाडौँ – लुम्बिनी विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १५.५१ प्रतिशत नाफा बढाएको छ ।


ADVERTISEMENT


बैंकले हालै जारी गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको पहिलो त्रैमासमा ९ करोड ६७ लाख खुद नाफा गरेको बैँकले चालू आवको सोही अवधिमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।


ADVERTISEMENT

# # #


बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । गत आवको असोजसम्ममा ३० करोड ६९ लाख खुद ब्याज आम्दानी गरेको लुम्बिनीले चालू आवको सोही अवधिमा २४ करोड ९५ लाखमात्र खुद ब्याज आम्दानी गरेको हो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा भने २ करोड १२ लाख ३८ हजार रुपैयाँले बढेर १५ करोड ९६ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आवको असोजसम्ममा ५ करोड २८ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज २ करोड ४२ लाख रुपैयाँमा सीमित भएसँगै खुद ब्याज आम्दानी घटे पनि बैंकको खुद नाफा बढेको हो ।

दुई अर्ब ७१ करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १ रुपैयाँ ४९ पैसा बढी हो । असोज मसान्तसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ छ ।

असोज मसान्तसम्ममा बैंकले ३२ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २५ अर्ब ४५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा भने बढेर २ प्रतिशतबाट २.३६ प्रतिशत पुगेको छ । बैंकको बेस रेट भने ११.३0 प्रतिशतबाट ९.६५ प्रतिशतमा झरेको छ ।