काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित भएका छन् ।


ADVERTISEMENT


बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी हुन् । नरवणेले महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपाली सेनाको सेनापतिलाई भारतीय सेनाको मानार्थ सेनापति र भारतीय सेनापतिलाई नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गर्ने प्रचलन रही आएको छ । सोही अनुसार नरवणेले उक्त सम्मान प्राप्त गरेका हुन् ।

उक्त दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल के एम करिअप्पा हुन् । उनलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो ।

गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए।

राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मान प्रति विशेष आभार प्रकट गर्नुका साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गरेका थिए ।

उक्त समारोहमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द थापा, रक्षा मन्त्रालयका सचिव रश्मिराज पाण्डे, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा लगायतको उपस्थिति रहेको थियो । आजै प्रधानसेनापति थापाले नरवणेको सम्मानमा जंगी अड्डामा रात्रिभोजको आयोजना गर्दैछन् ।

भिडियो हेर्नुहोस् :