– गोपालमान श्रेष्ठ, संगठन बिभाग प्रमुख, नेपाली कांग्रेस

 

कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेका कामहरुलाई कसरी हेर्नुभएको छ ?


ADVERTISEMENT


कोरोनाको संक्रमण बढेको छ । कोरोना नियन्त्रणमा सरकार यसरी चुकेको छ कि कोरोना यतिबेला टोल टोल, घर घरमा पुगेको छ । काठमाडौँमा जोखिम उच्च छ । यस्तो बेलामा सरकारले उपचार गर्न सक्दैनौँ भनेर हात उठाएको छ । कोरोनाको संख्या गन्ने बाहेक सरकारले केही गर्न सकेन । संक्रमितलाई आफै उपचार गर्नू भनेको छ । आइसोलेशन र आइसीयुको सम्म व्यवस्थापन गर्न सकेको छैन, भेन्टिेलेटको कुरा त परको भयो । आइसीयु, अस्पताल, एम्बुलेन्स सम्म नपाएर नागरिकले बाटोमै ज्यान गुमाउनुपरेको छ । अस्पतालले भर्ना लिएका छैनन् । तर पनि सरकार मुकदर्शक बनेर हेरिरहेको छ ।


ADVERTISEMENT

# # #


काँग्रेसको संगठन विभाग प्रमुख हुनुहुन्छ । संगठनमा के कस्ता कामहरु भइरहेका छन् ?

संगठनले पूर्णता पाउन बाँकी छ । निकट भविष्यमै पूर्णता पाउँछ । विभाग गठन भएपछि मैले ३ वटा छलफल गराएँ । दसैँपछि संगठनलाई चुस्तदुस्त बनाएर अघि बढ्ने तयारी गरेका छौँ । यस्तो बेलामा पनि सरकार भ्रष्टाचारमा लिप्त छ, भ्रष्टाचारीको संरक्षण गरिहेको छ । यसलाई पर्दाफास गर्ने पार्टीको योजना छ ।

सरकारले गरिरहेका कामको विरुद्धमा आन्दोलन गर्ने हाम्रो तयारी छ । दशैंपछि सरकारका बिरुद्ध नेपाली कांग्रेस सशक्त आन्दोलनमा अत्रिन्छ ।

अधिवेशन नजिकिँदै छ, अब कांग्रेस पार्टीको नेतृत्व कसले गर्छ त ?

फागुनमा अधिवेशन गर्ने भनेका थियौँ । तर कोभिडले अहिलेसम्म यसको पक्का भएको छैन । सबैलाई मिलाएर लाने गरी सहमतिको आधारमा नेतृत्व प्रदान गर्नुपर्छ भन्ने मेरो धारणा हो । भागबण्डा गर्ने भन्ने हुँदैन । भागबण्डाका कारण पार्टी ध्वस्त भएको छ । यसकारण पनि सकेसम्म सहमतिका आधारमा सभापति बनाउने कोशिस गर्ने हो । सहमतिका आधारमा गयो भने गुटबन्धी पनि अन्त्य हुन्छ । सहमति भएन भने गुट रहिरहन्छ । जसकारण पार्टीले ल्याएको नीतिको अनुसरण गर्नुपर्छ । पार्टी चुस्तदुरुस्त बनाउनुपर्छ । नेतृत्वलाई काम गर्न दिनुपर्छ । १४ औँ अधिवेशनले सम्पूर्ण गूटहरु अन्त्य गरेर पार्टी नयाँ उचाईमा पुगोस् भन्न चाहन्छु ।

सभापतिमा तपाईँको पनि दाबी हो ?

म पार्टीको सभापतिमा दाबी गर्छुँ । देउवाजी २ पटक सभापति हुनुभयो, हामीले उहाँलाई सभापति बनायौँ । अब मुलुकलाई नयाँ दिशा निर्देश गर्ने र १५-१६ सालको जस्तै काँग्रेसलाई बलियो बनाउने गरी काम गर्न मैले देउवाजीसँग छलफल पनि अघि बढाएको छु । अब पार्टी म हाँक्छु । 

मैले कार्यबाहक हुँदा नै आफूलाई प्रमाणित गरिसकेको छु । त्यतिबेला आफूभन्दा पनि देउवाजीलाई अघि सारेर मैले उहाँलाई सभापति बनाएँ । त्यो मेरो कर्तव्य पनि हुन आउँथ्यो । त्यो बेलामा मैले डेढ वर्ष कार्यबाहक हाँके । विभिन्न आन्दोलन, माओवादी र सरकारबीचको सहमति गर्नमा योगदान गरेँ ।

राजतन्त्र अन्त्य गरी गणतन्त्र ल्याउन देखि संविधान सभाको निर्वाचन र संविधान बनाउनसम्म मैले भूमिका निर्वाह गरेको छु । म कसैसँग निरंकुश पनि छैन, सबैसँग मित्रभाव छ ।

साथीभाईहरुले सभापति बनाए भने पार्टीलाई चुस्त दुस्त बनाएर सही मान्छे सही जिम्मेवारी दिएर काम गर्न सक्नेमा म विश्वस्त छु । क्षमतावान मान्छेलाई अगाडि सार्छु । ०८९ मा हुने चुनाव दुई तिहाईको बहुमतले जित्ने गरी काँग्रेसको नेतृत्व निर्माण गर्छु ।

तपाईँको टिममा को को हुनुहुन्छ ?

दसैँ तिहारपछि आवश्यक क्षमतावान टिम निर्माण गर्छु । दलित, जनजाति, पिछडिएका वर्ग र कर्णालीदेखि मधेस तथा हिमालसम्मका मान्छेलाई टिममा समेटेर अघि बढ्छु । क्षमतावान र समावेशी टिम बनाएर जनताको हकहितका लागि र काँग्रेसलाई पहिले जस्तै बलियो बनाउनका लागि काम गर्छु ।

हरेकलाई कम्तीमा गास, बास, कपासको सुनिश्चितता राज्यले गर्नुपर्छ । रोग र भोकले कोही नमरोस् भन्ने किसिमको व्यवस्था निर्माणका लागि पनि मैले नेतृत्व लिन खोजेको हुँ । अहिले नेपालीहरुले देशमा रोजगारी नपाएर विदेशिनु परेको छ, नेपालीहरुले विदेशी भूमिमा कठिन भन्दा कठिन काम गरेर प्राणआहुतिसम्म दिइरहेका छन् । देशमै रोजगारी भए को विदेशिन्छ ? राज्यले देशमा रोजगारीको सुनिश्चतता गरी परिवारसँगै बसेर जीविकोपार्जन गर्न सक्ने बनाउनुपर्छ । यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ । दलित, महिला वर्गहरुले हिँसा भोग्नुपरेको छ । यस्ता विभेदको पनि अन्त्य हुनुपर्छ । यस हिसाबले दक्ष र समावेशी टिम बनाएर हामी अघि बढ्छौँ, हाम्रो मिसन पनि यही हो । वामपन्थीहरु लगभग एक ठाउँमा उभिइसकेका छन् । काँग्रेस अहिले विभाजित छ । यो विभाजित दललाई एक ठाउँमा उभ्याउनु पनि काँग्रेसको अबको नेतृत्वको दायित्व हो ।

संघीयताको विषयमा फेरि वहस सुरु भएको छ । प्रधानमन्त्रीज्यूले नै प्रदेश भनेको केन्द्रकै निकाय हो भन्ने अभिव्यक्ति दिनुभएको छ । यस विषयमा तपाईँको धारणा के छ ?

आवश्कयता प¥यो भने ७ वटा मात्र नभएर ८ र ९ प्रदेश बन्न पनि सक्छ या कम पनि बन्नसक्छ । तर यसरी केन्द्रबाट शासित नै हुनुपर्ने हो भने संघीयतामा पुर्नविचार चाहिँ गर्नैपर्छ । अहिले एउटै सरकारको प्रदेशमा पनि बहुमत छ र केन्द्रमा पनि बहुमत छ । तर पनि केन्द्र र प्रदेश सरकारबीच समन्वय हुन सकेको छैन । केन्द्रबाट शासित हुनुपर्ने भयो र पछि नेतृत्व फरक भयो भने झन के कस्ता समस्याहरु देखिन्छन् त्यो भन्न सकिने अवस्था पनि छैन ।

संघीयताका नाममा जनताले सेतो हात्ती पालिरहन सक्दैनन् । कि २ तिहाई बहुमतले आन्दोलनबाटै यसलाई हटाउन सकिन्छ । छुट्टै जिम्मेवारी प्रदान गर्न सकिन्न र प्रदेशलाई अधिकार सुम्पिएर संघीयता कार्यान्वयनको बाटोमा जाँदैन भने यस किसिमको व्यवस्थाको कुनै महत्व हुँदैन । अहिले प्रदेश सरकार भन्दा जिल्ला प्रशासन कार्यालय शक्तिशाली छ । जसकारण यस्ता कुरामा पुर्नविचार चाहिँ गर्नु नै पर्छ ।

काँग्रेसको अबको नेतृत्वमा युवापुस्ताले जिम्मेवारी पाउँछन् ?

यसमा मेरो अलिकति फरक विचार छ । नयाँ पुस्तालाई समेट्नैपर्छ यसमा दुई मत छैन । नयाँ जोश र जाँगर भएका युवालाई नेतृत्वदायी भूमिकामा ल्याउनुपर्छ । तर यसो भनिरहँदा पाको उमेरका राजनीतिज्ञले अवकास नै लिने भन्ने होइन । नयाँ र पुरानो पुस्ताबीच समन्वय हुनुपर्छ, तब मात्र पार्टी बलियो बनाउन सकिन्छ । युवापुस्तालाई जिम्मेवारी सुम्पिएर पाको राजनीतिज्ञले निर्देशन गरेर पार्टी हाँक्नुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

यतिबेला हामी स्वास्थ्य संकटको अवस्थामा छौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणबाट हामी पनि ग्रस्त भएका छौँ । राज्य पनि यतिबेला जिम्मेवारीबाट पन्छिन मिल्दैन, जनताको स्वास्थ्य सुरक्षाको जिम्मेवारी लिनुपर्छ । नागरिकहरु पनि सुरक्षित भएर स्वास्थ्य सावधानी अपनाउनुपर्छ । दसैँ सुरु भएको छ । यो सबैभन्दा चहलपहल हुने समय हो । तर यतिबेला भिडभाड नगरेर जो जहाँ छौँ त्यहीँबाट दसैँ मनाउनुपर्छ । यो बेला साबधान र संयमित भएर काम ग¥र्यौँ भने दसैँ फेरि पनि आउँछ । त्यसैले यो संक्रमणको बेला सुरक्षित रहन सबैलाई आग्रह गर्दछु ।