काठमाडौँ – दसैंको चौथो दिन आज नवदुर्गाका नौरूपमध्ये कुष्माण्डा देवीको पूजाआराधना तथा दर्शन गरेर मनाइँदै छ। आश्विन शुक्ल चतुर्थी तिथिका दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिन्छ ।


ADVERTISEMENT


आज दियो, कलश र गणेशको पूजा गरी ‘कुष्माण्डा’स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।


ADVERTISEMENT

# # #


सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा ब्रहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो। आफ्नो मन्द मुस्कानद्वारा ब्रहृमाण्डको उत्पन्न गरेकोले यिनलाई कुष्माण्डादेवी भनिएको हो। सृष्टिको अस्तित्व नभएको बेला चारैतिर जताततै अन्धकार व्याप्त थियो। यस्तो अवस्थामा यी देवी कुष्माण्डाले खिसिक्क हाँसेर ब्रहृमाण्डको सृष्टि गर्नुभयो। पृथ्वीको यही सृष्टिको आदिस्वरूप नै उनी हुन्। यी देवीको आठ हात भएका हुनाले यी देवीको अर्को नाम अष्टभुजा देवी पनि हो। यी देवीको सात हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा छन् भने अर्को हातमा भक्तजनलाई सिद्धि र निधि दिन सक्ने जपमाला रहेको छ। यी देवीलाई कुभिण्डोको बलि ज्यादै मनपर्ने हुनाले पनि यी देवीलाई कुष्माण्डा पनि भनिन्छ। यी देवीको तेजको तुलना यिनीसँग मात्रै गर्न सकिन्छ। अरू कुनै पनि देवता यी देवीको तेजको प्रभावलाई खप्न सक्दैनन्। यी देवीको भक्ति गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुन्छ।

आज काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल भगवती, भद्रकालीलगायतका देवीका शक्तिपीठ तथा धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, सप्तरीको छिन्नमस्ता, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनी मन्दिरहरूमा विशेष पूजाआराधना हुनेगर्छ।

आजको दिन घटस्थापनाका दिन राखिएका जमरामा जल सेचन गर्ने र दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र वा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र १०८ पटक जपी चण्डीपाठ गर्नुपर्ने मार्कण्डेय पुराणमा उल्लेख छ।

नियमपूर्वक साधना वा अनुष्ठान गर्छन्, व्रत(उपवास, हवन र नियम)संयम सँग कुष्माण्डा देवीको आराधना गरेमा शारीरिक, मानसिक एवं आत्मिक शक्ति जाग्ने र यसले ऊर्जावान बनाउने शास्त्रीय मान्यता रहेको छ ।