काठमाडौँ – नवनियुक्त सूचना तथा सञ्चारप्रविधि मन्त्री पार्वत गुरुङले पद बहाली गरेका छन् । बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका मन्त्री गुरुङले त्यसलगत्तै सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्ष पुगेर पद बहाली गरेका हुन् ।


ADVERTISEMENT


पदवहाली पछि बोल्दै मन्त्री गुरुङले सञ्चार क्षेत्र बुझेको छैन भनेर कसैले गलत सुझाव दिए कारबाही गर्ने चेतावनी दिए । मन्त्रालयका कर्मचारीतर्फ इंगित गर्दै उनले बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफूले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘म पनि गलत गर्ने छैन, तपाईंहरुले गलत गरेको स्वीकार्ने छैन । तपाईहरुसँग मेरो यही सम्झौता हो ।’

मन्त्री गुरुङले कोभिड –१९ महामारीबाट आक्रान्त यस सङ्कटमय घडीमा गुणस्तरीय इण्टरनेट सेवा दिएर लाखौंँलाख बालबालिकाको अध्ययनअध्यापनलाई सहज बनाउन ध्यान दिनुपर्ने औंँल्याए । उनले कसरी डिजिटल नेपाल फ्रेमवर्कलाई सफलताको विन्दुमा पुर्‍याउन सकिन्छ र हाल अस्तित्वमा रहेनरहेको छुट्याउन कठिन भएको हुलाक सेवालाई पुनर्जीवित तथा अत्याधुनिक बनाउन सकिन्छ भन्नेतर्फ पनि ध्यान जानुपर्ने बताए।

आफूले अहिले नै निर्देशन दिन नचाहेको तर निकट भविष्यमै सबै निकाय र विभागबाट जानकारी लिएपछि सरकारको दृष्टिकोण र निर्देशन प्रस्तुत गरिने मन्त्री गुरुङले जानकारी दिए । नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको दृष्टिलाई सञ्चार र सूचना प्रविधिका क्षेत्रबाट कसरी सघाउन सकिन्छ भन्नेतर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहने उनको स्पष्टोक्ति थियो ।

‘सरकारका कामसम्बन्धी सहीसही सूचना तत्काल र व्यवस्थित ढङ्गले एकद्वार प्रणालीबाट जनसमक्ष पुर्याउन विभिन्न मन्त्रालयका प्रवक्तासँग मिलेर काम गरिने छ र सूचना प्रविधि र सञ्चार क्षेत्रका विकृतिविसङ्गतिलाई हटाउन पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घसंँग पनि सहकार्य गरिने छ’, मन्त्री गुरुङले भने।

यसअघि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका गुरुङलाई मंगलबार हेरफेर गर्दै प्रधानमन्त्री ओलीले सञ्चार मन्त्रालयको जिम्मेवारीवारी दिएका थिए ।