पोखरा– मादी गाउँपालिका–५ स्थित भैँसे कास्कीको उत्तरपूर्वी क्षेत्रको प्राचीन व्यापारिक केन्द्र हो ।


ADVERTISEMENT


उत्तरपूर्वी क्षेत्रका भाचोक, सैमराङ, थुमाको डाँडा, मिजुरे, कालिका लगायतका स्थानबाट पशुवस्तुका साथै घरमा अत्यावश्यकीय सामान किनबेचका लागि सो ठाउँ प्राचीनकालमा प्रमुख व्यापारिक केन्द्रका रुपमा विकास भएको थियो ।


ADVERTISEMENT

# # #


स्थानीयवासी बुद्धिनाथ ढकालका अनुसार मादी नदीमा पुल नहुँदा लामो समयसम्म पिछडिएको उक्त भेगका बासिन्दालाई पोखरा आउन निकै कठिन हुने गरेको थियो । बिक्रीका लागि ल्याइने पशुचौपाया नदीमा लट्ठा लगाएर तार्ने गरिन्थ्यो । उत्तरपूर्व क्षेत्रका बासिन्दाले गोरु, भैँसीलाई भैँसेमा ल्याएर बिक्री गर्ने गरेका ढकाल बताए ।

भैँसेमा चार दशकभन्दा अघिदेखि सञ्चालित सुरेश थकालीको पसल, २०३४ सालपछि सञ्चालनमा आएको चन्द्रमणि ढकालको चियापसल यहाँका विशेष चर्चाका स्थल हुन् । पछिल्लो समयमा २०७० सालदेखि मादी नदीमा पक्की पुल बनेसँगै यस क्षेत्रको आवतजावतमा निकै सहज भएको स्थानीयवासी मनोज श्रेष्ठले बताए ।

पुलको निर्माण र अन्य बाटोघाटोको विस्तारसँगै भैँसेमा आधुनिक वस्ती विकासको ह्वात्तै बढेको छ । भैँसे र आसपासको क्षेत्रको विकास र सामाजिक जागरणमा लोकतान्त्रिक आन्दोलनका नेता स्व कमलमणि ढकाललगायतको विशिष्ट योगदान रहेको स्थानीयवासी बताउँछन् । पदमार्गले पनि यहाँको महिमा र गरिमा बढाएको छ ।

स्थानीय समाजेसवी एवम् नेपाली काँग्रेस मादी गाउँपालिकाका सहसंयोजक भानु ढकाल सिक्लेसबाट सिल्दजुरे–भैँसे–कालिका–ठूलाकोट हुँदै बेगनासताल सम्मको करिब छदेखि सात दिनको पदयात्रा मार्ग यहाँको महत्वपूर्ण मार्ग हो । पोखराबाट बेगनासताल–ठूलाकोट–भैँसे–थुमाको डाँडा–दूधपोखरीसम्म ८-९ दिनको पदमार्ग छ । यी पदमार्गलाई थप व्यवस्थित गर्न अपरिहार्य भएको उनको भनाइ छ ।

कृषिको पर्याप्त सम्भावना रहेको भैँसेमा धान, मकै, कोदो, गहुँ तथा तरकारी उत्पादन पर्याप्त मात्रामा हुन्छ । विशेषगरी वर्षातको समयमा यहाँका अधिकांश टारी खेतमा पानीका मूल फुट्ने भएकाले धानबाली फष्टाउने गरेको छ । उब्जाउयोग्य जमिन भएका कारण स्थानीयवासीले व्यावसायिक कृषिलाई प्राथमिकता दिएका छन् । यहाँ उत्पादित कृषिजन्य वस्तुको पोखरामा अत्यधिक माग छ ।

यहाँ बस्ती विकासमा तीव्रता आएको छ । पुलको सहजतासँगै पक्की घर बन्ने क्रम जारी छ । व्यापार व्यवसायमा भैँसेले फड्को मार्न थालेको स्थानीयवासी बताउँछन् । रासस