म्याग्दी – जिल्लाको मङ्गला गाउँपालिका–३ स्थित पर्यटकीय स्थल झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता सम्पन्न भएको छ । झाँक्रीपानीको प्रचारप्रसार र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ बेनी पिस सिटिले शनिबार जिल्लाका मिडियाकर्मीबीच फोटो खिच्ने प्रतियोगिताको आयोजना गरेको हो ।


ADVERTISEMENT


प्रतियोगितामा स्वतन्त्र फोटोग्राफर अनुप बानिया प्रथम र राससका म्याग्दी समाचारदाता सन्तोष गौतम दृतीय भए । प्रथम र दृतीयलाई प्रमाणपत्रसहित नगद दश हजार र छ हजार ५०० प्रदान गरिएको थियो । झाँक्रीपानीको प्राकृतिक सौन्दर्य, जैविक विविधता, संस्कृति र जनजीवनमा आधारित फोटो खिच्ने प्रतियोगितामा छ जनाले सहभागिता जनाएका क्लबका अध्यक्ष खम थापाले बताए।


ADVERTISEMENT

# # #


बिजेता र सहभागीलाई मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, लायन्स क्लब अफ बेनी पिस सिटिका संस्थापक अध्यक्ष राजेश शाक्य, जोन चियर पर्सन हिरा शर्मा लगायतले पुरस्कार बितरण गरे । समुन्द्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको झाँक्रीपानीको पर्यटन विकास र प्रचारप्रसारका लागि क्लबले प्रर्वद्धनात्मक गतिविधि गर्दै आएको सचिव सन्दीप खत्रीले बताए।

धौलागिरी, गुर्जा, पुथा, मानापाथी, निलगिरी, अन्नपूर्ण, बराह शिखर र माछापुच्छ्रे हिमाल, सूर्योदय, सूर्यास्त, पश्चिम म्याग्दीका अधिकांश बस्ती र भूगोलको झाँक्रीपानीबाट दृष्य अवलोकन गर्न सकिन्छ । झाँक्रीपानीमा भ्यू टावर, पदमार्ग, सामुदायिक भवन निर्माण र घरबास सञ्चालन गरिएको मङ्गला गाउँपालिकाका उपाध्यक्ष केसीले बताए। उनका अनुसार गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । पोकदेखि नेटासम्म पदमार्ग निर्माण भैसकेको छ । रासस