– रेशम चौधरी


ADVERTISEMENT


जेलमै,
जनताको हाल बुझेँ,
गर्छु भन्ने तर नगर्नेहरुको ताल बुझेँ
के बुझिन र मैँले ?
कदम कदमको हरदम बुझेँ


ADVERTISEMENT

# # #


जेलमै,
पत्रकारिताको कलम बुझेँ
नागरिकर्मीको कदम बुझेँ
के बुझिन र मैँले ?
कदम कदमको हरदम बुझेँ

जेलमै,
वकिलको काम बुझेँ
विचौलियाको छलछाम बुझेँ
के बुझिन र मैँले ?
वकिलको बहस र विचौलियाको सहजतामा
श्रीमानको इन्तजाम बुझेँ

जेलमै,
अनाहकमा फसाइएकाहरुको डर बुझेँ ।
नेताहरुको घर बुझेँ
अर्कालाई उजारेर आफ्नो बनाउन खोज्नेको
वर बुझेँ
के बुझ्न सकिन र मैँले ?
भ्रष्टाचारीका लागि स्वर्ग र ठगहरुको मामाघर बुझेँ

जेलमै,
नाइके, भाइनाइकेहरुको कर्म बुझेँ
आधा राखेर आधा दिने पुलिसको धर्म बुझेँ
वर्षौं भेटघाटबाट वञ्चित रहनेहरुको मर्म बुझेँ
के बुझिन र मैँले ?
सय कैदीको शय्यामा चार सय सुताउने सरकारको
सर्म बुझेँ

जेलमै,
अरुलाई थन्काएर आफू बन्नेको आह्वान बुझेँ
थुपारेर आएका ठेकेदारको रस्वादन बुझेँ
टोलटोल थर्कमान गराउने डन बुझेँ
के बुझिन र मैँले ?
‘वक्त आए तो बाप भी वैरी होते हैं’ भन्ने
पुर्खाको कथन बुझेँ

जेलमै,
समयक्रम बुझेँ, आफ्नो पराक्रम बुझेँ
कर्म बुझेँ, मर्म बुझेँ, धर्म-अधर्म बुझेँ
प्रकृति पथप्रदर्शक र परिवार बुझेँ
के बुझिन र मैँले ?
पासोमा पल पल बितेका ती पीडा बुझेँ ।