काठमाडौँ – संघीय सासंद देवेन्द्रराज कँडेलले सरकारले मापदण्डविपरित संविधान दिवसमा पदक सम्मान वितरण गरेको बताएका छन् । नवरलरासीबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सासंद कँडेलले पदक नियमावलीको नियम ३४ (कं) अनुसार मानपदवी सय जना, अलंकार र पदक ५०–५० जना गरी बढीमा दुईसय जनालाई विभूषित गर्ने नियम भएपनि सरकारले नियम विपरीत ५ सय ९४ जनालाई सम्मान गरेको टिप्पणी उनले गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद कँडेलले ठूला भ्रष्टाचारको फाइल तामेलीमा राखेर सेवानिवृत्त भएका अख्तियार प्रमुख नवीन घिमिरेलाई पनि राष्ट्रको लागि योगदान गरेको भन्दै सम्मान गर्नुले पदककै अवमूल्यन भएको बताए । डा. सन्दुक रुइतलगायत केही राम्रा मान्छेले पदक पाएपनि अधिकांश पदक विजेताको नाम हेर्दा राणाशासन, पञ्चायती व्यवस्था र शाही सरकारको झल्को देखिएको बताउँदै उनले भनेका छन्,‘अधिकांश पदक पाउने व्यक्तिको नामावली हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीमा राणाशासन, पञ्चायती ब्यवस्था, शाही सरकार कार्यकालको आलोचना गर्ने नैतिकता छैन ।’
पदक वितरणले स्वास्थ्य, सुरक्षा, समाजसेवा लगायतका क्षेत्रमा अहोरात्र खटिएकाहरुलाई अन्याय गरेको टिप्पणी उनको छ ।