चितवन – भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा यहाँका सरकारी कार्यालय डुबानमा परेका छन् ।


ADVERTISEMENT


नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखाहरु पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकेपछि सो क्षेत्र डुबानमा परेका हुन् । झण्डै एक साता यता नियमित परेको वर्षातसँगै यहाँका अधिकांश सरकारी कार्यालय डुबानमा परेका छन् । कार्यालयमा सेवा लिन जाने सेवाग्राही र कर्मचारीले सडकमा नै जुत्ता खोलेर जानुपर्ने बाध्यता रहेको छ । डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी व्यवस्थापन वोर्ड, खानेपानी तथा सरसफाइ डिभिजन, शिक्षा विकास तथा समन्वय एकाइ, जिल्ला प्रहरी र कारागार लगायतका कार्यालय डुबानमा परेका हुन् ।


ADVERTISEMENT

# # #


जिल्ला समन्वय समितिको मातहतमा रहेको गेष्ट हाउस चौर एक महिनाभन्दा बढी समयदेखि जलमग्न भएको छ । यी सबै कार्यालय भरतपुर महानगरपालिका–१० मा पर्दछ । वडाध्यक्ष अरुणपीडित भण्डारीले पानीको निकास नभएकाले कार्यालय डुबानमा परेको बताए । आफूहरु निर्वाचित हुनुअघि नै जनप्रतिनिधिले नहर पुरेको उनको भनाइ छ ।

भण्डारीले वाईपास सडक र पूर्वपश्चिम राजमार्गमा ठूलो ढल बनाएर सोही ढलमा यस क्षेत्रको पानी मिसाउने गरी आफूले दीर्घकालीन योजना बनाएको बताए। जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले गेष्ट हाउस चौरलाई भने पुर्ने योजना आफ्नो रहेको जानकारी दिए। उनले भरतपुर क्षेत्रमा रहेका सरकारी कार्यालय डुबान नहुने गरी योजना बनाउनुपर्ने बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यसअघि नै नहरहरु मिचिएकाले पानीले निकास नपाएको बताए । उनले भने, “वृहत छलफल गरेर दीर्घकालिन समाधानका लागि महानगरले काम गर्छ ।” तत्कालका लागि गर्नुपर्ने कामका लागि महानगर तयार रहेको उनको भनाइ छ । अधिक वर्षाका कारण पनि पानीले निकास नपाएको हो ।

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख इञ्जिनीयर खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत आउने नहर पूरै मासिएको छ । भरतपुरको वर्सेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ । यसै क्षेत्रमा सरकारी कार्यालय रहेका छन् । पाठकका अनुसार नहरमा कालोपत्रे तथा कच्ची सडक, भवन जस्ता संरचना बनेका छन् । कार्यालयले पटकपटक सम्बन्धित निकायमा अतिक्रमण रोक्न पत्राचार गरेको भए पनि रोक्न नसक्दा अहिले शहरी क्षेत्र डुबानमा परेको उनले बताए । रासस