वैजयन्ती शर्मा


ADVERTISEMENT


काठमाडौँ – कोरोना संक्रमणका कारण सरकारले लगाएको बन्दाबन्दीपछि काम गरी खाने श्रमिक वर्गको रोजीरोटी गुमेपछि श्रमिकहरुको सडकको बास भएको छ ।  देशको राजधानी काठमाडौँमै बन्दाबन्दीपछि श्रम गरेर खाने श्रमिकहरुले रोजगारी गुमाएपछि उनीहरुसँग न खाने अन्न छ न पानी, आम्दानी बन्द छ । कोठा भाडा तिर्न नसकेको भन्दै कतिपय श्रमिकहरुलाई काठमाडौँका घरबेटीले निकाल्दिएका छन्, र उनीहरुको सहारा बन्न पुगेको छ सडकपेटी ।


ADVERTISEMENT

# # #


सुर्खेतका कविराज अधिकारी बसपार्कमा भारी बोक्ने काम गर्थे, बन्दाबन्दीपछि उनले काम गुमाए । बसपार्कको होटलमा समेत काम गर्ने उनी उतै खान्थे र सुत्थे । तर होटल बन्द भएपछि साहूले निकाल्दियो र अहिले उनी काठमाडौँका फुटपाथमा जहाँ खालि ठाउँ भेट्यो त्यही सुत्छन् । सुर्खेतमा उनको घर छ, जहान बालबच्चा छन्, तर उनी भन्छन्, ‘घर फर्किनका लागि न पैसा छ न सवारीसाधन नै चलेका छन्।’ जसकारण उनी टुँडीखेलमा समाजसेवी इन्दिरा रानामगर, ह्वान्ड्रेड ग्रूप र सीर्जनशील आमा समूहको पहलमा श्रमिकलाई खाना खुवाइरहेको भिडमा घुस्छन् र खाना पायो भने खान्छन् । दिउँसो ३ बजेबाटै टुँडीखेलको घाममा खाना पर्खिएर बस्ने उनी एक छाक  फुटपाथमा रात कटाउँछन् ।

यस्तै, पीडा छ जनकपुरका मुकेश झाको । उनी पनि भारी बोक्थे । कोठा भाडा तिर्न नसकेको भन्दै घरबेटी निकाल्दियो र उनको न खाने ठेगान छ न बस्ने । उनी कसैले खाना बाँडिरहेको छ भन्ने सुनेपछि बाँडिरहेको ठाउँमा पुग्छन् र चुपचाप लाइनमा लाग्छन् । रातमा उनी जहाँ खालि ठाउँ भेट्यो त्यहीँ पेटीमा पल्टिन्छन् । दुई महीनादेखिको उनको दैनिकी हो यो । उनी भन्छन्, ‘हामीलाई त यो राज्यले मान्छे नै गन्दैन ।’

यस्तै काभ्रेका बिजु मर्हजन, बर्दियाका राजेश चौधरी र गोरखाका सन्तोष परिवारको दैनिकी पनि फुटपाथ र टुँडीखेल भएको छ । हरेक दिन टुँडीखेलमा दिउँसोदेखि सयौँ मजदूरहरु साँझको खाना पर्खिएर बस्छन् । एक छाक खान्छन् र कोही डेरामा फर्किन्छन् भने अधिकांशलाई घरबेटीले निकालिसकेका छन् । रत्नपार्कमा भेटिएका सप्तरीका कमल कार्की आफ्नो हातको पानीको बोतल देखाउँदै भन्छन्, ‘पानीसम्म पाइँदैन, मैले यो पानी ढुङ्गेधाराबाट भरेर ल्याएकोे हुँ ।’

लकडाउनपछि काम गुमाएको र आफूहरुको सडकको बास भएको गुनाशो उनीहरुको छ । सरकारले केही नगरेको उनीहरुको आरोप रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भोकै बस्न नदिन सरकार लागि परेको दोहोर्‍याएका छन् । आइतवार निजी क्षेत्रका नेतृत्वकर्तासँगको छलफलमा उनले भने, ‘नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको र स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गर्नुभयो । प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पार्नुभयो,’ बैठकमा प्रधानमन्त्रीले राखेका विषयबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

यसअघि उनले २ वर्ष अघि र्‍याडिसन होटेलमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘अब हामी देशको एकजना नागरिक भोको छ–छैन, एकजना पनि नागरिक खान नपाएर त बसेको छैन कि भनेर पनि हेर्छौँ ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हर एक नागरिकले सबै सेवा र सुविधा पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । अब नेपालमा कोही भोकै पर्दैन, कोही भोकै मर्दैन । नेपाली भिखमंगा हुन सक्दैन । खान–लाउन नपाउने नेपाली हुन सक्दैन ।’

त्यसपछि विगत ३ वर्षदेखि निरन्तर राष्ट्रपति विद्यादेवी भण्डारी ‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नाराका साथ हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएकी छिन् । सरकारले बोलीमा मिठो कुरा गरेपनि कोरोना नियन्त्रणका लागि भनेर बन्दबाहेक केही नगरेको आरोप श्रमिकहरुको छ । ‘कोरोना आयो भनेर सरकारले हाम्रो काम पनि खोस्यो, सरकारले केही गरेन, सडकमा आयो भने प्रहरीले कुट्छ । भोकै मर्नु ?’ टुँडीखेलमा खाना खान लाइनमा उभिएका श्रमिक ईश्वर गुरुङले भने, ‘कोरोनाले कुन्नि, सरकारले चाहिँ मार्छ यसरी । ’