काठमाडौँ – बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ ।


ADVERTISEMENT


मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन्। तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईले जानकारी दिए।


ADVERTISEMENT

# # #


प्रभावित क्षेत्रमा पुगेर सम्बोधन गर्दै गृहमन्त्री थापाले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई क्षतीपूतिस्वरुप २ लाख रुपैयाँ दिइने बताए । यस्तै उनले पूर्णरुपमा क्षतिग्रस्त घरहरु सरकारले बनाइदिने आश्वासन दिए ।

घर आफै बनाउनेलाई सरकारले राहतस्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने पनि उनले बताए । आवश्यक परेमा थप २ लाख रुपैयाँ ऋणस्वरुप उपलब्ध गराउने सरकारको नीति रहेको गृहमन्त्री थापाले सुनाए । भत्किएका अन्य पूर्वाधारहरु पनि सम्बन्धित मन्त्रालयमार्फत सरकारले बनाउने उनले बताए ।

बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ । बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । धेरै बेपत्ता छन् । त्यहाँ ३० भन्द बढी घर बगाएको बताइएको छ । सडक बाटो क्षतविक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन ।