– डा. रूद्रनाथ अधिकारी (ज्योतिषाचार्य)


ADVERTISEMENT


राष्ट्रियता र राष्ट्रवाद भन्ने चिज राजनैतिक पासा बनेको छ हाम्रो देशमा । शक्तिशाली व्यक्तिले आफ्नो स्वार्थको लागि कुनै पनि बेला पद, प्रतिष्ठा र कुर्सी जोगाउन चारजना खाले जम्मा गरेर खेल्न सक्छन् यहाँ र खेल्दै आएका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रियताको सबालमा जंगबहादुर यताको पुस्ताले खासै भूमिका खेल्न नसकेको यथार्थलाई आत्मसात गर्नै पर्दछ । यो कालखण्डमा केही हदसम्म राजा महेन्द्र, बि.पी. र राजा विरेन्द्रसम्मको केही दूरदर्शिता र अठोट रहेको देखिन्छ। तत्पश्चातको राजनैतिक पासा केवल कुर्सीको दाउपेचमा प्रयोग भएको र हुँदै आएको इतिहास दिवा सूर्यसमान छर्लङ्ग छ।

त्यसपछिको हाम्रो राष्ट्रवादलाई जोगीको सातु बनाइएको छ। बलियो इतिहास तथा वीरता र वीरभूमिको गाथा अनि कथा बोकेको दह्रो नेपाली अखण्ड राष्ट्रियता एवं राष्ट्रवादलाई कहिले जातीय, कहिले क्षेत्रीय, कहिले साम्प्रदायिक त कहिले दलीय भागबन्डामा लुछाचुँडी गरेर प्रायः चिरहरण गरिँदै आएको छ । आजको नेपाली राष्ट्रियतालाई धृतराष्ट्रको राजसभामा द्रौपदीको असहाय अवस्थासँग तुलना गर्दा फरक नपर्ला । जनताको अगाध राष्ट्र भक्तिले ओतप्रोत भावनालाई निकासहीन राजनीतिक बन्दीखानामा दुर्योधन, दुशासन र शकुनीहरुले थुनेर निष्क्रिय अवस्थामा बन्दी बनाएर राखेको आभाष भएको छ ।

खुलेआम अराजकताको नाङ्गो ताण्डव भइरहँदा पनि मुकदर्शक छ सरकार र सम्बन्धित निकाय । जातीय घृणा र विद्रोह फैलाएर देशलाई सोमालिया र हाइटी बनाउने खेल उत्कर्षमा पुगिसकेको छ । योजनाकारहरु राजनीतिको छातामुनि सुरक्षित रहेर हुंकार छोडिरहेका छन् । परापूर्व कालदेखि इतिहास बोकेका रैथाने नेपाली जाति, वर्ग र सम्प्रदायहरुको अस्तित्वमाथि धावा बोलिँदैछ । अस्तित्व, स्वाभिमान र राष्ट्रियता माथि नै प्रश्न खडा गरी खुल्ला चुनौती दिइँदैछ । तर, शासक र शासन मौन छ । मौन नरहुन पनि कसरी ? बीजारोपण र जलमल यिनैले गरेर हुर्काएका हुन् । झ्याङ्गिइसकेको छ आज र दुःखद परिणामको स्पष्ट संकेत नजिकै छ भनेर इशारा गरिरहेको छ । रिट्ठाको बोट रोपेर कहाँ फल्छ र कागती’ भनेझैँ भइसकेको छ ।

स्वभाविक रुपमा राष्ट्र र राज्यमा जब राजनीति अस्थिर हुन्छ, तब शासन तथा राज्य संयन्त्र कम्जोर हुन्छ । घरभित्र कटाक्ष चल्दा, घरमुली नीतिहीन, चरित्रहीन र अविवेकी हुँदा छिमेकीले आफ्नो साम, दाम, दण्ड, भेदको प्रयोग गरेर सके जतिको स्वार्थ लुट्छ नै। बिचलित मानसिकता बोकेका सदस्यहरु स्वार्थ र सहाराका लागि भड्किन्छन्, दौडिन्छन् अनि भौतारिँदै अर्काको क्षणिक दामन थाम्न पुग्दछन् र प्रतिशोधका लागि अनेकौं भागमा अंशबण्डा र कित्ताकाट गर्छन्, गराउँछन् । त्यस्तै भएको छ आज यो मेरो देशमा । कुटिल पासा हातमा लिएर बसेका कुरुवंशीहरुलाई भोलिको भयावह वंश विनाश, विनाशकारी कुरुक्षेत्रको महाभारतको न आभास छ, न चिन्ता न चिन्तन । छ त केवल चिरहरणसंग प्रतिशोधी क्रुर मानसिकता ।

एकातिर अति डरलाग्दो र अनियन्त्रित कोरोनाको संक्रमणले अस्तव्यस्त जनजीवन र मानसिकता, अर्कातिर थाङ्थिलो अर्थतन्त्र अनि यसमा पनि सत्ता र कुर्सीको लडाँइमा मग्न देशको राजनीति र शासन अवस्थाको फाइदा उठाउँदै जुन प्रकारको जातीय, धार्मिक र साम्प्रदायिक दंगाको बिगुल फुकिएको छ, यसलाई सामान्य मान्न कदापि सकिँदैन । सुतेको विस्तारा, बसेको घर आगो लगाउँदा सडकमा पुग्ने आफै हो । कुनै दल र गुट विषेशले यदि यसको पक्षपोषण र संरक्षण गर्दछ भने उसको विनाश त सुनिश्चित छ नै । देशलाई कुरुक्षेत्र पनि बनाउन नसक्लान् भन्न सकिँदैन । त्यसैले सम्पूर्ण देशभक्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले यो परिस्थितिलाई समयमा बुझ्न अति आवश्यक छ र राज्य संयन्त्रले पनि समयमा उचित कदम नचाले भोलिको भयावह स्थितिको सामना गर्नुपर्ने सुनिश्चित छ । सरकार र सत्ताको गम्भिर ध्यानाकर्षण हुन समयमा आवश्यक पनि उत्तिकै छ ।

मूर्खहरूले घरमा लामखुट्टे लाग्यो भनेर घरमा नै आगो लगाउन थालेका छन् । हामी सचेत भएनौँ भने यिनीहरूले हाम्रो देशरूपी यो घरलाई चाँडै नै जलाएर खरानी बनाउँनेछन्, अतः हामी सम्पूर्ण सचेत नागरिक बेलैमा जागेर त्यस्ता लामखुट्टेलाई र घरमा आगो लगाउन खोज्ने तत्व, वर्ग व्यक्तिहरुलाई समय छँदै चिन्न, चिनाउन, नियन्त्रण र निस्तेज पार्न आजको आवश्यकता हो।