प्रहरीले बैंक हिँडेका आफ्ना कर्मचारीलाई बाटोमै रोकी सास्ती दिएको भन्दै नेपाल बैंकर्स एशोसिएसन अफ नेपालले आज कुनै पनि शाखाहरु नखोल्ने निर्णय गरेपछि काठमाडौं उपत्यकामा सबै बैंकका शाखाहरु एकाएक ठप्प बन्न पुगे । यस्ले गर्दा बैंक तथा वित्तीय संस्थाबाट पाउनु पर्ने सेवाबाट ग्राहकहरु बञ्चित बन्न पुगे । 

उच्च स्तरको सुरक्षा प्रबन्ध तथा सावधानी अपनाएर अत्यावश्यक सेवा र सरकारी कोभिड कोषमा करोडौं राहत समेत दिईरहँदा पनि राज्यले भूमिका नबुझेको भन्दै बैंकहरुले मन दुखाएका छन् ।

अत्यावश्यक अन्र्तगत पर्ने यस्ता सेवाहरु सुरक्षा सावधानी अपनाएर सञ्चालन गर्नु भन्ने प्रशासनबाट  ‘ग्रिन सग्निल’  पाएका बैंकहरुले कसरी  ‘रेड सिग्नल’ को महसुस गरे त ! आखिर भएको के हो ? अप्रत्याशित रुपमा बन्द भएका बैंकका शाखाहरु भोलिबाट सुचारु होलान ? हिमालय पोष्टबाट हामीले नेपाल बैँकर्स एशोसिएसनका अध्यक्ष भुवन दाहालमहानगरीय प्रहरी कार्यालयका  प्रमुख डीआइजी विश्वराज पोखरेलसंग बैंक र प्रहरीबीच आज भएको  ‘मुडभेट ‘ झैं देखिने घटनाको अन्तर्य बुझ्ने प्रयास गरेका छौं । 

बैंकहरुले अत्यावश्यक सेवा दिएका छन् भन्ने प्रहरीले भुलेजस्तो लाग्यो भुवन दाहाल, अध्यक्ष, नेपाल बैँकर्स एशोसिएसन 

आज काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण बैँकका शाखाहरु आकष्मिक रुपमा बन्द गर्नुपर्ने त्यस्तो के आईपर्यो ?


ADVERTISEMENT


हामीले हिजो नै शाखा खोल्ने भनेर समन्वय गरेका थियौँ । बेलुकातिर के निर्णय भएछ थाहा भएन । तर, यो गलत बुझाईका कारण भएको हो जस्तो लाग्छ । महानगरीय प्रहरीले पनि समन्वयको अभावका कारण भएको भन्ने कुरा गरेको रहेछ । काठमाडौँ, भक्तपुर र ललितपुर मात्रै होइन, हाम्रा शाखाहरु देशभरि नै छन् । निषेधाज्ञा हुँदा पनि त्यहाँ त खुलेका छन् नि ! बाहिर खुला हुँदा केन्द्रीय कार्यालय बन्द हुने कुरा त भएन ।  झन बैंकहरु त अत्यावश्यक अन्र्तगत नै पर्ने हुँदा हामीले सिमित शाखाहरु खोलेर भए पनि सेवा दिनेमा कटिबद्ध नै छौं । तर हाम्रा कर्मचारी साथीहरुलाई पहरीबाट बाटैमा रोक्ने काम भएछ । अनि त समस्या आयो नि  ! त्यसैले आजलाई सेवा दिन नसक्ने अवस्था भयो ।


ADVERTISEMENT

# # #


अब कहिले खुल्छन् त बैँकका शाखा ?

भोलिदेखि यो समस्या सल्टिन्छ भन्ने आशा गरेका छौँ । हाम्रो कमिटिको बैठक बसेको छ । भोलिदेखि खोल्छौँ भनेर राष्ट्र बैँकसँग हामीले सल्लाह गरेका छौँ ।  राष्ट्र बैँकले पनि प्रहरी प्रशासनसंग समन्वय गरिसकेको भन्ने कुरा आएको छ । अत्यावश्यक सेवा नरोकियोस् भन्ने हिसाबले भोलिबाट सेवा सुचारु गर्छौं ।

सबै शाखा खुल्छन् कि निश्चित तोक्नुभएको छ ?

सबै शाखाहरु त पहिले पनि खोल्ने निर्णय भएको थिएन । हामीले एउटा बैंकका धेरैमा आठवटा शाखा खोल्न सकिने भनेर भनेका छौँ । किनभने यो निषेधाज्ञाको अवस्था हो र सेवाग्राहीको चाप त्यती हुँदैन । मात्रै अत्यावश्यक काम नरोकियोस् भन्ने हिसाबले हामीले सेवा दिने हो ।

निषेधाज्ञामा संक्रमणको जोखिम त महसुस गर्नुभएको होला ? कस्तो साबधानीका साथ सञ्चालन हुन्छन् त बैंकहरु ?

हामीले कुनकुन शाखाहरु खुल्छन् भनेर बैँकको वेवसाइटहरुमा राखेका छौँ । ग्राहकहरुलाई पनि यसबारे जानकारी दिन्छौँ । तर, शाखाहरु थोरै मात्रै खुल्छन् । ग्राहकहरुलाई हामीले हिजो पनि सेवा दिएकै हो र भोलि पनि दिने नै हो । तर, ग्राहकलाई सकेसम्म बैँकमा नआउनुहोस् भन्ने मेरो आग्रह छ । एटीएमहरु सबै खुला हुन्छन् , हाम्रा डिजिटल सेवाहरु पनि छन् ।

हाम्रा कर्मचारीहरुले पनि सुरक्षा साबधानीका उपायहरु अपनाउनु हुनेछ । यस्तै, ग्राहक महानुभावहरुले पनि अत्यावश्यक नपर्दा सम्म बैंकका डिजिटल सेवाहरुबाट काम लिनु होला भन्ने हाम्रो आग्रह छ । 

‘साधारण चेकजाँच मात्रै हो, रोकिएको होईन’ :  डीआइजी विश्वराज पोखरेल, महानगरीय प्रहरी कार्यालय प्रमुख

कर्मचारीहरुलाई बाटोमा प्रहरीले रोकेको भन्दै आज बैँकहरुले उपत्यकामा आफ्ना सबै शाखाहरु बन्द गरे । खासमा भएको के होला ?

बिहान हिँडेका प्राइभेट गाडीजतिलाई चेक गरिएको हो । बैँकले पनि थोरै संख्यामा मात्रै कर्मचारी पठाउने भन्ने कुरा भएको थियो । संख्या कति छ भनेर हेर्नलाई पनि रोकिएको होला । त्यो भन्दा अरु केही होइन । बैंकका कर्मचारीहरुको टाढैबाट चिनिने गरी छुट्टै सवारी साधन नहुने भएकोले पनि प्रहरीले चेकजाँज गर्नु स्वाभाबिकै हो । अत्यावश्यक अन्र्तगतका सेवाहरुका हकमा नरोक्ने सर्कुलर भई नै सकेको छ । बैंकहरुका लागि पनि समस्या हुने कुरै भएन ।

बैँकका स्टाफ हुँ भन्दा पनि रोकिएको भन्ने छ । त्यस्तो भएको हो ?

होइन । बैँकका कर्मचारीलाई रोकिएको होइन । बैँकको छुट्टै नम्बरको गाडी हुँदैन । सबैको चेक गर्दा बैँकका कर्मचारी पनि परेका हुन् ।

उसो भए, बैंकहरुले ढुक्क भए भयो की आज जस्तो समस्या भोलि हुँदैन ?

यो समस्या हुने कुरै होईन । उहाँहरुले आज पनि बैंकहरु बन्द गर्नु भन्दा पहिले नै मसंग कुरा गर्नुभएको भए, छोडिदिन भनिहाल्थें । राष्ट्र बैंकसंग पनि मेरो कुरा भईसकेको छ । उहाँहरुलाई प्रहरीका तर्फबाट बैंक लगायतका अत्यावश्यक सेवा अन्र्तगतका सवारीहरुलाई नरोकिने बताईसकिएको छ । राष्ट्र बैँकसँग आज पनि साधारण चेकजाँच मात्र गरिएको हो, रोकिएको होईन भनेको छु । यसमा असहज भन्ने छैन । भोलिदेखि रोकिन्न ।

उपत्यकामा पहिलो दिनको निषेधाज्ञा कस्तो भईरहेको छ ?

उपत्यकाका तीनैवटा जिल्लाहरुमा निषेधाज्ञा पूर्ण रुपमा पालना भएका छन् । अत्यावश्यक बाहेकमा पब्लिकहरुले यस्को राम्रोसंग पालना गर्नुभएको छ । उपत्यका भित्रिने पनि अहिले घटेका छन् । हामीले चेकिङ र सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राखेका छौं ।