सुर्खेत-  वीरेन्द्रनगरमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण को जोखिम बढेपछि स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो । समुदाय स्तरमा सङ्क्रमण देखिन थालेपछि जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले भदौँ १ गते बिहान ६ बजेदेखि ५ गते राति १२ बजेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पछिल्लो स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताउनुभयो । पछिल्लो दुई दिनमा वीरेन्द्रनगरमा ३६ जना कोरोना सङ्क्रमित भेटिएका छन । त्यसमध्ये पनि पाँच जना कुनै पनि ट्राभल हिस्टी नभएका सङ्क्रमित छन् । बिहीबार मात्रै १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अहिलेसम्म वीरेन्द्रनगरमा १९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसअघि साउन २५ गतेदेखि कोरोना जोखिम बढेको भन्दै बढी भिड हुने जिल्ला प्रशासन, मालपोत, यातायातलगायत कार्यालयमा अत्यावश्यकबाहेक सेवाहरू बन्द गरिएको थियो । कोरोना सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा चाडपर्वका बेला जात्रा, गोष्ठी, सेमिनार नगर्न रोक लगाइसकेको थियो ।


ADVERTISEMENT

# # #