काठमाडौं – सरकारले नेपालमा उत्पादन हुने १०० प्रकारका औषधिको मूल्य बढाउने तयारी गरेको छ । औषधि उत्पादक व्यवसायी र सरकारबीच गत साउन ११ गते भएको सम्झौताअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले मूल्य वृद्धिका लागि औषधिको मूल्य समायोजन कार्यविधि बनाएर मन्त्रालयमा पठाएको हो ।


ADVERTISEMENT


अन्तिम पटक २०६१ मा नेपाली औषधिको मूल्य निर्धारण गरिएकोमा त्यसयता औषधिको मूल्य वृद्धिका लागि विभिन्न समयमा मागसहित आन्दोलन गरिरहेका व्यवसायीहरुले पछिल्लो समय असारदेखि आन्दोलन शुरु गरेका थिए । व्यवसायीहरुको आन्दोलनपछि असार चौथो साताको मन्त्रिपरिषद् वैठकले व्यवसायीका माग अध्ययन गर्न स्वास्थ्य मन्त्रालयका सहसचिव डा. विकास देवकोटाको संयोजकत्वमा तीन सदस्य समिति बनाएको थियो । जुन समितिमा विभागका महानिर्देशक नारायण प्रसाद ढकाल र नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्री रहेका थिए । उक्त समितिले मूल्य समायोजन गर्नुपर्ने निश्कर्ष निकाली विभागलाई सुझाव दिएकोमा विभागले प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


सोहीअनुसार कार्यविधि मन्त्रालयमा पठाएको जानकारी दिँदै कार्यविधि कार्यान्वयनका लागि मन्त्रालयमा पठाइएको विभागका महानिर्देशक ढकालले बताए ।
यो कार्यविधि कार्यान्वयनपछि सरकारले प्रत्येक ६÷६ महीनामा औषधिको मूल्य समायोजन गर्नेछ । औषधिको खुद्रा मूल्य, कच्चा पदार्थको लागत, कच्चा पदार्थलाई औषधिमा रुपान्तरण गर्दा लाग्ने लागत, प्याकेजिङ पदार्थ र ज्यालाको लागत तथा उत्पादन पछिको तोकिएको अधिकतम खर्चको प्रतिशतका आधारमा मूल्य समायोजन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।