जनकपुर — जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मंगलबार राति काठमाडौंमा मृत्यु भएको छ । उनी ७३ वर्षका थिए ।
१५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका मृतक गिरी ०४४-०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन् । उनका दुवै छोरा डाक्टर हुन् ।
ब्रुनाईमा रहेका गिरीका जेठो छोरा काठमाडौं फर्किसकेका छन् । कान्छो छोरा भने अस्ट्रेलियाको सिड्नीमा बस्छन् ।