ओखलढुङ्गा – लिखु नदीले बगाएर बेपत्ता भएका ओखलढुङ्गाका एक युवक फेला नपरेपछि परिवारले अन्तिम दाहसंस्कार गरेको छ । चम्पादेवी गाउँपालिका–१० रानीवन निगालेका ३६ वर्षीय रोहितकुमार ढुङ्गेललाई गत बुधबार लिखुले बगाएको थियो ।


ADVERTISEMENT


नदीले बगाएका ढुङ्गेलको उद्धार गर्न नसकिएको र शवसमेत नभेटिएपछि जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर आज अन्तिम दाहसंस्कार गरेको हो ।


ADVERTISEMENT

# # #


ढुङ्गेल गत बुधबार बुबा र ससुरासँग गोठ सार्न गएका थिए । गाईबाख्रा खोला तार्ने क्रममा ससुरालाई नदीले बगाउन खोजेपछि बचाउने क्रममा उनलाई नदीले बगाएको थियो । प्रहरी र स्थानीयवासीले निरन्तर खोजी गर्दा पनि फेला पार्न नसकेपछि परिवारले शुक्रबार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको चम्पादेवी–१० का वडाध्यक्ष उज्जन बुढाथोकीले जानकारी दिए । “उहाँलाई नदीले बगाएको सुन्नासाथ प्रहरी र स्थानीय हामी सबैबाट निरन्तर खोजियो, फेला पार्न सकिएन”, वडाध्यक्ष बुढाथोकीले भने, “कुशको शव बनाएर दाहसंस्कार गरी परिवारले आफ्नो संस्कारअनुसार काजकिरियाको काम थालेको छ ।” नदीले बगाएर बेपत्ता भएका ढुङ्गेलका श्रीमती र दुई सन्तान छन् ।

प्रहरीले भने ढुङ्गेलको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले बताए । जिल्लाभित्रको लिखु किनारमा जिल्लाकै प्रहरी जनशक्ति र अन्य जिल्लाका प्रहरीलाई समेत सूचना दिएर शव खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । ओखलढुङ्गामा वर्षेनी पहिराबाट ठूलो जनधनको क्षति हुँदै आएको छ ।

फरार अभियुक्त पक्राउ

ओखलढुङ्गामा जबर्जस्ती करणी उद्योगका फरार अभियुुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । जबर्जस्ती करणी उद्योगमा फरार लिखु गाउँपालिका–५ का ५० वर्षीय रिकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

करीब छ महिनादेखि प्रहरीको फरार सूचीमा रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । विसं २०७६ माघ २४ गते लिखु – ४ यसमकी ४५ वर्षीया एक महिलालाई जबर्जस्ती करणी उद्योग गरी थापा फरार भएका थिए ।

अभियुक्त थापालाई आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस