काठमाडौँ – झापामा प्रहरीले हत्याका अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ। प्रहरीले साविक जलथल गाविस–८ का दुर्गा मगरलाई बिहीबार मेचीनगर नगरपालिका– १२ स्थित शहरेडाँगी आफन्तको घरबाट पक्राउ गरेको हो।


ADVERTISEMENT


उनले २०६० कात्तिक ३० गते झापा गाउँपालिका–४ बस्ने ४५ वर्षीय बिरिक लाल माझीमाथि कुटपिट गरेका थिए । गम्भीर घाइते भएका माझीको मंसिर ४ गते मृत्यु भएको थियो।


ADVERTISEMENT

# # #


माझीको मृत्यपछि मगर भारतको कोलकत्ता, दार्जिलिङ तथा वैदेशिक रोजगारीको लागि मलेसिया, दुबईसमेत पुगेका थिए। नेपालमा आएर पनि उनी आफन्तको घरमा लुकिछिपी बस्ने गरेको डिएसपी राकेश बताए ।

मगरमाथि प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेको छ।

घटना के भएको थियो ?

२०६० कात्तिक ३० गते बिरिकलाल माझी आफ्नी छोरी भेट्न बिष्णुलाल माझीको घर अर्थात् आफ्नो ससुराली गएका थिए।

छोरीलाई भेटेर राति ७–८ बजे उनीहरू बिरिकलाल र बिष्णुलाल घुमफिर गर्न घरबाट निस्किए। ५०० मिटर पर पुगेपछि बिरिकलाल चुरोट किन्न मणिकुमार राईको भट्टी पसलमा छिरे। बिरिकलाललाई चुरोट दिन राईकी छोरी आइन्। डिएसपी थापाका अनुसार चुरोट लिँदा माझीले उनको हात छोएका थिए। त्यसकै निहुँमा रक्सी खाएर बसेका दुर्गा मगर र खेम फुयाललगायतले उनीमाथि कुटपिट गरे।

उनीहरूले आफ्नी बहिनीको हात किन समातेको भन्दै माझीमाथि कुटपिट गर्न थाले। अबेरसम्म खाना खान नआएपछि बिरिकलाल खोज्न निस्किएका बिष्णुलाल माझीले खोज्दै घटना भइरहेको ठाउँमा पुगे । घटनाबारे थाहा पाएपछि उनले बिरिकलाल आफ्नो पाहुना भएको र एक पटकलाई माफी गरिदिन आग्रह गर्दै उनलाई त्यहाँबाट आफ्नो घर लिएर आए ।

घर फर्किएपछि बिरिकलाललाई छाडेर बिष्णु बाहिर निस्किन्छन् । त्यही बेला दुर्गा मगरले केही मानिस जम्मा गरी बिरिकलाललाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको डिएसपी थापाले जानकारी दिए।

‘तलाई मार्छौं भन्दै उनीहरूले भुइँमा लडाएर चिरपटको दाउरा र छालाको बुट जुत्ताले हानेर गम्भीर घाइते बनाएका थिए’ डिएसपी थापाले भने, ‘त्यसपछि उनीहरू त्यस दिनदेखि फरार थिए।’

गम्भीर घाइते भएका बिरिकलाललाई उपचारको लागी मेची अञ्चल अस्पतालमा लगियो। उनलाई केही दिन अस्पतालमा राखेपछि घर लगियो। घरमै भएको बेला २०६० साल मंसिर ४ गते बिहान उनको मृत्यु भएको थियो। उनीहरूविरूद्ध बिष्णुलाल माझीले कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।

प्रहरीले बिहीबार उनीमाथि सोधपुछ गर्दा आफूले हत्या गरेको स्वीकारेको डिएसपी थापाले बताए । उनका अनुसार यस घटनामा संलग्न अन्य तीन जनाको पनि खोजी भइरहेको छ । उनीहरुलाई मुलुकी ऐन २०२० को ज्यान सम्बन्धि महलको दफा १३ को उपदफा ३ बमोजिम जन्म कैदसम्मको सजाय हुन सक्ने डीएसपी थापाले बताए ।