सप्तरी – सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पताल आजदेखि बन्द भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका चार जना अहेब र छिन्नमस्ता अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत सल्यक्रिया सहायकमा आज कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द भएको हो ।


ADVERTISEMENT


अस्पताल निसङ्क्रमण गर्नुपरेको र ठूलो सङ्ख्यामा अन्य स्वास्थ्यकर्मीलाई होम क्वारेन्टिनमा राख्नु परेकाले आकस्मिक कक्ष, ‘सर्जरी’ र ‘ओपिडी’ सेवासमेत बन्द गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताए। आकस्मिक कक्षमा तीन जना अहेव यसअघि नै सङ्क्रमित भएर आइसोलेशनमा छन् भने सरसफाइ कर्मचारी र अस्पतालकै पोषण गृहमा कार्यरत नर्स दुई दिनअघि मात्र निको भई घरमा आराम गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


आकस्मिक कक्षका सात जना अहेब आइसोलेशनमा भएको र शङ्कास्पद तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारी होम क्वारेन्टिनमा बस्नु परेकाले आकस्मिकका साथै ‘सर्जरी’ र ‘ओपिडी’ सेवासमेत बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर झाले बताउनुभयो । आकस्मिक कक्ष निसङ्क्रमण गर्न पूरा दिन लाग्ने भएकाले आवतजावत बन्द गरी दिनभरि सेवा ठप्प हुने भएको छ ।

सामान्य हुँदै गएका आकस्मिक कक्षमा उपचाररत बिरामीलाई होम क्वारेन्टिनमा बस्न घर पठाइएको र निगरानीमा राख्नुपर्ने सर्पदंश, विष सेवनसहितका पाँच-छ जना बिरामीलाई बरण्डामा छुट्टै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । आकस्मिक कक्षमा उपचाररत राजविराज नगरपालिका–६ का ५५ वर्षीया एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गरिएको थियो । जसमा चार जना अहेबमा आज सङ्क्रमण पुष्टि भएको हो । उनको सम्पर्कमा आएका दुई चिकित्सकसहित १४ जना होम क्वारेन्टिनमा छन् ।

त्यसअघि पिसिआर परीक्षण नगरी एक महिनाअघि मलेशियाबाट आएर घर बसेका रूपनी गाउँपालिका–५ धुरगाउँका ४५ वर्षीय पुरुषको गत मङ्गलबार मृत्यु भएपछि बुधबार गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । उनको उपचारमा संलग्न आकस्मिक कक्षमा कार्यरत शङ्कास्पद स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिएको छ । धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएका उनलाई धरान लैजानुअघि गनासिं अस्पतालमा दुईपटक भर्ना गरिएको एक अहेबले जानकारी दिए। सो क्रममा उपचारमा संलग्न भएका सात जना स्वास्थ्यकर्मी पनि होम क्वारेन्टिन भएको अस्पतालले जनाएको छ ।

सात जना अहेबमा सङ्क्रमण पुष्टि भएपछि र तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई होम क्वारेन्टिन गर्नु परेपछि अस्पतालका अन्य सेवासमेत प्रभावित भएको छ । राजविराजमै रहेको छिन्नमस्ता अस्पताल (निजी)को ‘अपरेशन थेटर’मा कार्यरत सिरहा नगरपालिका–१७ का ३३ वर्षीय शल्यक्रिया सहायकमासमेत आज कोरोना सङ्क्रमण पुष्टि भएको सो अस्पतालले जनाएको छ । दुई दिनअघिबाटै नयाँ भर्ना लिन बन्द गरेको छिन्नमस्ता अस्पतालमा हाल अस्पतालका एक कैदीसहित शल्यक्रिया र प्लाष्टर गरेका तीन बिरामी उपचाररत छन् । सो अस्पतालका चिकित्सकसहित ७० जना कर्मचारीलाई होम क्वारेन्टिन गरिएकाले अस्पताल पूर्णरूपमा बन्द गरिएको प्रशासन प्रमुख राजेश झाले जानकारी दिए ।

केही चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी दुवै अस्पतालमा कार्यरत छन् । दुवै अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि अस्पताल बन्द हुँदा उपचार सेवाबाट जिल्लावासी वञ्चित हुनुपरेको छ ।

गनासिं अस्पताल प्रशासनका अनुसार नयाँ बिरामी भर्ना लिन नसकिए पनि भर्ना भएका बिरामीको भने उपचार यथावत रहने छ । “निसङ्क्रमण गरेर आकस्मिक कक्ष सुरक्षित बनाएपछि सेवा सञ्चालन हुनेछ”, अस्पतालका दीपेन्द्र सिंहले भने, “अस्पतालबाट अन्यत्र सङ्क्रमण फैलिन नपाओस् भनेर सावधानी अपनाएको र निसङ्क्रमण नगरुञ्जेल सेवा बन्द गर्नुपरेको हो ।” रासस