चितवन – चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ।


ADVERTISEMENT


नेपाल चेपाङ संघका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६ः०० बजे काठमाडौंबाट बुझेर आज बिहान चितवन ल्याइएको हो। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकले पीडितको माग सम्बोधन गर्ने निर्णय गरेपछि परिवारले शव बुझेको उनले बताए।


ADVERTISEMENT

# # #


त्रिवि शिक्षण अस्पताल काठमाडौंमा रहेको शव परिवारले चितवन ल्याएको छ। राजकुमारको शव परीक्षण त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो। सर्वपक्षीय बैठकले चेपाङलाई कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्ने पहिलो निर्णय गरेको छ।

बैठकले राजकुमारकी छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने, मृतकको घर निर्माणमा आवश्यक वन पैदावर, कच्चापदार्थ र श्रमसमेत निःशुल्क उपलब्ध गराउने, राजकुमारको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ रकम उपलब्ध गराउने र शव परिवारले बुझी अन्त्येष्टि गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाली कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए।

यही साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमारसहित पाँच जनालाई निकुञ्ज सुरक्षार्थ खटिएका सैनिक जवानले कुटपिट गरेको परिवारको आरोप छ। कुटपिटबाट घाइते भएका राजकुमारको अवस्था जटिल बन्दै गएपछि यही साउन ७ गते थप उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो।

राजकुमारको उपचारकै क्रममा सोही राति मृत्यु भएको थियो। मृत्युपछि परिवारले शव बुझ्न अस्वीकार गरेको थियो।

मृतक राजकुमारको चेपाङ संस्कार अनुसार गड्यौलीमा अन्त्येष्टि गरिने भएको छ। रासस