दार्चुला – दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ । आज घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रादेवी जोशीको मृत्यु भएको हो । छोरा २१ वर्षीय सुनिल जोशी भने भागेर बाँच्न सफल भएका छन् ।


ADVERTISEMENT


दार्चुला–तिङ्कर सडक भत्किएपछि घरमाथि पहिरो गएको थियो । सडकभन्दामुनि घर भएका जोशीको घर पूरै पहिरोले ढाकेको छ । दुवैको शवलाई घरभित्रबाट झण्डै १२ घण्टा पछि निकालिएको वडा नम्बर ३ का वडाध्यक्ष लालबहादुर बमले बताए । पहिरोले पूरै घर पुरिएका कारण दुवैको शवलाई बाहिर निकाल्न समय लागेको उनले बताए ।


ADVERTISEMENT

# # #


जिल्लामा सोमबारदेखि निरन्तर वर्षा भएपछि पहिरो खसेको थियो । पहिरोले घर पुरिएको खबर आएलगत्तै प्रहरी चौकी ब्रह्मदेव र जिल्लाबाट प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

पहिराले पुरिएर जोशीकै घरमा रहेको एक भैँसी र चार वटा बाख्रा पुरिएका छन् । पहिरो पन्छ्याउन स्थानीयले सक्रिय सहयोग गरेका थिए । जिल्लामा असार १५ यता बाढी र पहिरोमा परी नौ जनाले ज्यान गुमाएका छन् । जसमा दुहुँ गाउँपालिकामा दुई जना, मालिकार्जुन गाउँपालिकामा दुई जना र नौगाड गाउँपालिकामा ५ जनाले बाढी र पहिरोमा परेर ज्यान गुमाएका हुन् ।