काठमाडौं- मुस्लिम आयोगले भूमिहीन मुस्लिम परिवारहरुलाई जग्गा उपलब्ध गराउन माग गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मंगलबार भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीसँग छलफल गरी भूमिहीन मुस्लिम समुदायलाई जग्गा उपलब्ध गराउन माग गर्नुभएको हो ।


ADVERTISEMENT


उहाँले २०४७ देखि ०७७ सालसम्म आइपुग्दा विभिन्न चरणमा १ लाख ५४ हजार जनाले दरखास्त दिएका र ४६ हजार ६ सय ९४ बिघा जग्गा उपलब्ध हुँदा मुस्लिम समुदाय कसैले पनि भूमि पाउन नसकेको बताउनुभयो । अध्यक्ष मियाँले कम्तीमा ० दशमलव ५ प्रतिशत भूमि मुस्लिम समुदायलाई उपलब्ध गराउन माग गर्नुभयो । आयोगले देशभर ७० हजार भन्दा बढी मुस्लिम परिवारहरु भूमिहीन रहेको भन्दै प्राथमिकतामा राखेर समस्या समाधान गर्न आग्रह गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष ज्ञवालीले अहिले १४ लाख भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउन लागिएको र त्यसमा सबै समूदायका भूमिहीनहरु पर्ने आश्वासन दिनुभयो ।


ADVERTISEMENT

# # #